समाज


बोडेमा ३ दिन ४ रातसम्म मनाइने नीलबाराही नाचको राैनक

बोडेमा ३ दिन ४ रातसम्म मनाइने नीलबाराही नाचको राैनक

नेपालखबर
साउन २७, २०८२ मंगलबार ९:१०, भक्तपुर

भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ।

बोडेमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टदेखि सुरु हुन्छ।

गएकाे मध्यरातिबाट बोडेको अखा द्यों छेँ अर्थात् देवता घरबाट सुरु भई रातभर सहरका विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मध्यपुरथिमि नगरपालिका–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिए।

मध्यरातिबाट सुरु भएको नाचपछि भोलिपल्टको बिहान टोलवासीको पूजा गर्नेको घुइँचो लाग्ने गर्छ। बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्छन्। यो क्रम चार रात र बिहान चल्ने गर्छ। नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र दवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

त्यसैगरी मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि गए रातिबाट तान्त्रिक शक्ति रहेको भैलः प्याखँ (भैरव नाच) प्रदर्शन भइरहेको छ। गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमिमा भैरव नाच प्रदर्शन हुनेछ।

भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका बाद्यवाधक एवं सहयोगीसमेत गरी एक सय जनाको समूह सक्रिय रूपमा सहभागी भइरहेका छन्।

श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा यस वर्ष नगदेशका विभिन्न क्षेत्रमा र टोलमा भैरव नाच प्रदर्शन गरिन्छ । चार रातसम्म भैरवका विभिन्न देवगणहरूलाई तान्त्रिक शक्ति प्राप्त गरी नाच प्रदर्शन गरिन्छ।

त्यसैगरी गए रातिबाट मध्यपुरथिमि –५ पोबुटालबाट सलचा प्याँख अर्थात् घोडा नाच प्रदर्शन गरिएको छ। चार रातसम्म प्रदर्शन हुने यो नाच भुलाखेल, द्धिगुटोल, बालकुमारी, चपाचालगायत क्षेत्रमा प्रदर्शन हुनेछ। मध्यपुरथिमिका तीन ठूला सहरमा रातभर चार दिनसम्म विभिन्न देवीदेवताको नाच चलिरहनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad