समाज


बुद्ध एयरका पूर्वनिर्देशक शिवेन्द्र: छोरीलाई नागरिकता नदिन प्रपञ्च, अंशमा पनि छल गरेको ठहर

बुद्ध एयरका पूर्वनिर्देशक शिवेन्द्र: छोरीलाई नागरिकता नदिन प्रपञ्च, अंशमा पनि छल गरेको ठहर

अर्चना बस्नेत र शिवेन्द्रबहादुर बस्नेत


नेपालखबर
साउन ३१, २०८२ शनिबार १२:०, काठमाडौँ

केही वर्षअघि बुद्ध एयरको ४० प्रतिशत स्वामित्व आफ्नो भएको दाबी गरेर चर्चामा आएका शिवेन्द्रबहादुर बस्नेतले आफ्नै छोरी र श्रीमतीलाई पनि छलछाम र धोकाधडी गर्दै आएको पाइएको छ।

छोरीलाई नागरिकता नदिन उच्च अदालत पाटनमा रिट दिएका उनले अशंहकबाट बेदखल गर्न थप कानुनी प्रपञ्चहरूको भुमरीमा पारिरहेको भेटिएको छ। शिवेन्द्रका यी गतिविधिले बुद्ध एयर सञ्चालन गरिरहेको बस्नेत परिवारमा कलहले नयाँ रूप लिएको छ।

शिवेन्द्रका प्रचञ्चहरूको फेहरिस्त नै उतारेर मोरङ जिल्ला अदालतले हालै एउटा मुद्दाको फैसलामा भनेको छ- छोरीको अंशहकलाई प्रत्यक्ष प्रभावित हुने गरी दूषित मनोभावले कार्य गरेको देखिन्छ। यस्ता कार्यले कानुनी मान्यता पाउँदैनन्। अर्थात्, ती कार्य बदर हुन्छन्।

त्यसो भए शिवेन्द्रले दूषित मनोभावले केके काम गरे त?

तेजश्वी बस्नेत अहिले २० वर्षकी भइन्। यसबीचमा उनले न बुवाको न्यानो स्नेह पाइन्, न त अभिभावकीय ओत नै। बाल उमेरमा खुलेर बुवा भन्ने साइनो पनि लगाउन पाइनन्।

यतिसम्म त सहेकै थिइन्। नागरिकताको सिफारिस लिन वडा कार्यालय हुँदै प्रशासनसम्म पुग्दा तिनै बुवा भाँजो हाल्न आइपुगे। त्यतिखेर उनको मन कति कुँडियो होला? यस्तो कठोर परिस्थितिको सामना पनि ती किशोरीले गरिन्।

उनले वडाबाट बनाएको सिफारिसदेखि प्रशासनले अघि बढाएको प्रक्रिया रोक्न शिवेन्द्र अदालतको अन्तरकालीन आदेश लिएर पुगे। भलै उच्च अदालत पाटनले आफैँले दिएको अन्तरकालीन आदेश पछि खारेज गरिदियो।

तर, तिनै बुवाले उनका विरुद्ध अर्को व्यूह रचना गरिसकेका रहेछन्, अंशबाट बेदखल गर्न।

उच्च शिक्षा अध्ययनदेखि व्यवसाय गर्न ऋण लिनुपर्दा अचल सम्पत्ति धितो राख्नुपर्छ। तर, उनले ‘म छु नि’ भनेर आड दिने बुवा त पाइनन् नै, जन्मसिद्ध रूपमा पाउनुपर्ने पैतृक सम्पत्तिको हक पनि पाइनन्।

शिवेन्द्रले उनलाई अंश हकबाट वञ्चित गर्न अनेक तिकडम गरेको अदालतका कागजातहरूबाट देखिन्छ।

को हुन् शिवेन्द्र?
हुन त शिवेन्द्र सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा नेपाल सरकारका पूर्वमन्त्रीसमेत रहिसकेका सुरेन्द्रबहादुर बस्नेतका कान्छा छोरा हुन्।

कुनै समय शिवेन्द्र नेपालकै सबैभन्दा ठूलो हवाई कम्पनी बुद्ध एयरका निर्देशक तथा सेयर होल्डर थिए। यस कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत छन्। वीरेन्द्रका भाइ हुन् शिवेन्द्र।

२०५७ सालमा बुद्ध एयरमा रहेको आफ्नो सबै सेयर बेचेर शिवेन्द्र अलग भए र बुद्ध एयरकै कतिपय कर्मचारीलाई समेत लगेर माउन्टेन एयर सञ्चालनमा ल्याए।

बुद्ध एयरबाटै लगेका कर्मचारीमध्ये एक थिइन्, बबी रायमाझी। एयर होस्टेस बबीसँग शिवेन्द्रको दाम्पत्य सम्बन्ध कायम भयो। तेजश्वी तिनै बबीतर्फकी छोरी हुन्। जबकि, २०४६ सालदेखि वैवाहिक सम्बन्धमा रहेकी शिवेन्द्रकी जेठी श्रीमती अर्चना बस्नेतबाट तीन सन्तान छँदै थिए।

खराब व्यवस्थापनका कारण माउन्टेन एयर केही समयमै बन्द भयो। विभिन्न बैंक र नागरिक उड्डयन प्राधिकरणको कालोसूचीमा पर्‍यो।

त्यसपछि माउन्टेन एयरका विमानहरू बेचेर उनले आफ्नी जेठी छोरीका नाममा चितवनमा शिवानी फ्लाइङ स्कुल खोले। उक्त स्कुलमा भर्ना भएका करिब ३ दर्जन विद्यार्थीसँग पैसा उठाए पनि उनीहरूलाई पूरा शिक्षा र प्रमाणपत्र दिन नसकी बन्द भयो।

पीडित विद्यार्थी र तिनका अभिभावकले पैसा फिर्ता माग्न थालेपछि शिवेन्द्र अमेरिका भासिए। माओवादी द्वन्द्वको असर र ज्यानकै सुरक्षामा खतरा दर्शाउँदै उतै बसे। सन् २०१६ देखि उतैको नागरिक भइसकेको कुरा उनले अदालतमा बुझाएका कागजातमा खुलाएका छन्।

कान्छी श्रीमती बबीबाट छोरी जन्मिएको केही समयमै अमेरिका भासिएका शिवेन्द्रले त्यहीँबाट खर्चसमेत पठाइरहेकै थिए। छोरीले नागरिकता नखोज्दासम्म उनीहरूबीचको सम्बन्ध पनि ठिकठाकै चलिरहेको देखिन्छ।

२०७९ पुस १० गते वीरेन्द्र र शिवेन्द्रका बुवा सुरेन्द्रबहादुर बस्नेतको निधन भयो। लामो समय अमेरिकामा रहेका शिवेन्द्र बुवाको मृत्यु हुनुभन्दा केही समयअगाडि मात्रै नेपाल आएका थिए।

यता बुवा सुरेन्द्रले पारिवारिक विरासत रहेको बुद्ध एयरको सेयरमध्ये आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर परिवारका सदस्यहरूको नाममा दामासाहीले बाँडफाँट गरिदिएका थिए, पहिले नै वीरेन्द्रको नाममा रहेको २० प्रतिशतबाहेक।

शिवेन्द्र विदेशी नागरिक भइसकेका र नेपाल आउँदा गैरआवासीय नेपाली (एनआरएन) को हैसियतमा मात्र बस्ने गरेका थिए। त्यसैले शिवेन्द्रले पाउने ४० प्रतिशत सेयर उनकी जेठी श्रीमती अर्चना बस्नेत र उनीबाट जन्मिएका तीन छोराछोरीका नाममा गराइदिने निर्णय सुरेन्द्रले लिएका थिए। सर्वोच्च अदालतका पूर्वन्यायाधीश सुरेन्द्रले यो निर्णय निकै सोचविचार गरी लिएको परिवारका सदस्यहरू बताउँछन्।

पछिल्लो समय शिवेन्द्र कान्छी श्रीमतीभन्दा जेठीसँग नजिक भए। अनि कान्छीतर्फबाट जन्मिएकी छोरीलाई समेत हेला गर्न थाले। आफ्नो छोरी नै होइन भन्दै नागरिकता र अंश हकबाट वञ्चित गर्ने कानुनी प्रपञ्चतिर लागे।

नागरिकता नदिन उच्च अदालतमा रिट
शिवेन्द्र टाढिन थालेपछि बबीले ललिलतपुर अदालतमा अंश माग गरी मुद्दा दायर गरिन्। आफूमाथि थिचोमिचो गरेको भन्दै घरेलु हिंसाको पनि उजुरी दिइन्। अंश प्राप्त नगरुन्जेलका लागि मानाचामल पनि उनले दाबी गरिन्।

ती मुद्दालाई निष्प्रभावी बनाउन शिवेन्द्र चलाखीसाथ उच्च अदालत पुगे। उनले बबीतर्फकी छोरीको बाबु आफू नरहेको भन्दै उच्च अदालतमा रिट दायर गरे। र, छोरीले नागरिकता लिने प्रक्रिया पनि रोक्नुपर्ने माग गरे। उनको यो माग सदर भए जिल्ला अदालतका मुद्दा निरर्थक बन्न सक्थे।

तर उच्च अदालतले त्यसो गरेन। २०८० मंसिरमा दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दा उच्चले उनका पक्षमा अन्तरकालीन आदेश जारी गर्दै तत्काल नागरिकताको प्रक्रिया रोक्न त भन्यो। तर, अन्तिममा शिवेन्द्रको दाबी गलत सावित भयो र नागरिकताको प्रक्रिया पनि फुकुवा भयो।

हुन पनि तेजस्वीले नागरिकताको सिफारिस पाउन ललितपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा बाबु शिवेन्द्रको नाम खुलेका थुप्रै कागजात पेस गरेकी थिइन्। जस्तो कि ओम अस्पतालबाट जारी भएको जन्म प्रमाणपत्र, काष्ठमण्डप विद्यालय, बूढानीलकण्ठले विभिन्न मितिमा दिएका सिफारिस एवं प्रमाणपत्र, बूढानीलकण्ठ नगरपालिकामा भरेको परीक्षा आवेदन फाराम, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जारी गरेको परीक्षाका प्रवेशपत्रमा स्पष्टरूपमा शिवेन्द्रको नाम थियो। वडाले जारी गरेको जन्म दर्ता प्रमाणपत्रमा पनि बाबुको नाम शिवेन्द्र नै थियो।

शिवेन्द्रले अमेरिकाबाट विभिन्न मितिमा तेजस्वीकी आमा बबीलाई पत्नी नाता देखाई पैसा पठाएका रसिदले पनि उनीहरूबीचको नाता र सम्बन्ध खुलाउँथे। नागरिकतासम्बन्धी कानुन र स्थानीय सरकार सञ्चालन ऐनले नागरिकताको सिफारिस गर्न यति कागजात नै पर्याप्त थिए। त्यसै आधारमा वडा कार्यालयले नागरिकताका लागि प्रशासनलाई सिफारिस गरिदिएको थियो। २०८० चैतमा भएको फैसलाले उक्त सिफारिस सदर गरिदियो। रिट खारेज भयो र शिवेन्द्रको नियत कानुनी रूपमा पराजित भयो।

व्यावहारिक रूपमा भने तेजश्वीले नागरिकता अझै पाएकी छैनन्। शिवेन्द्रले अनेक व्यवधान खडा गरिरहेकै छन्।

नागरिकता नभई राहदानी बनाउन मिल्दैन। राहदानी नभएकै कारण अध्ययन, रोजगारी वा घुमघामकै लागि पनि विदेश जाने सपना देख्न नै बर्जित छ ती निर्दोष छोरीका लागि। बैंक खाता खुल्दैन। जागिर पाइँदैन। एउटा क्याफेमा काम गरिरहेकी उनी अहिले पनि नागरिकताकै लागि संघर्ष गरिरहेकी छन्।

अंशबाट वञ्चित गर्न अनेक खेल
बबीले आफ्नो र छोरीको अंशहकका लागि ललितपुर जिल्ला अदालतमा मुद्दा हालिन्। ती मुद्दा निष्प्रभावी बनाउन शिवेन्द्रले उच्च अदालतलाई प्रयोग गर्न खोज्दा सफल भएनन्।

त्यसपछि अर्को चलाखी गरे, शिवेन्द्रले। जसले २०६० असोज २५ गतेलाई मानो छुट्टिएको मिति कायम गरी ५ भागको १ भाग अंश दिलाई पाऊँ भनी जेठी श्रीमती अर्चना बस्नेतका नामबाट आफ्नाविरुद्ध मुद्दा हाल्न लगाए। त्यो मुद्दा २०७९ माघ ९ गते दर्ता गरेको देखिन्छ।

उनीहरूको स्थायी ठेगाना र हाल बसोबास रहेको ठेगाना ललितपुर महानगरपालिकाको वडा नं ४ उल्लेख छ। अनि मुद्दा परेको भोलिपल्टै अर्थात् माघ १० गते शिवेन्द्रले मोरङ अदालतबाट सूचना बुझेका छन्। त्यसै दिन आफूविरुद्धको मुद्दाको जवाफ दर्ता गराएका छन्।

जवाफमा उनले २०६० असोज २५ गते नै मानो छुट्टिएकोले अर्चना बस्नेतको सम्पत्तिमा कुनै दाबी नभएको र आफूले पनि अंश दिनु नपर्ने लेखेका छन्।

एकले अर्काका कुरामा सहमति जनाएपछि त्यसै दिन मुद्दा मिलापत्रमा टुंगिन्छ। मिलापत्रमा अर्चना र शिवेन्द्रबीच २०६० असोज २५ मै मानो छुट्टिएको, अर्चनाले अंशवापत ५ लाख रूपैयाँ बुझिसकेको र अरू सम्पत्तिमा दाबी नगर्ने, ३ जना छोराछोरीको अंश भाग शिवेन्द्रको जिम्मामा रहने लेखिन्छ।

यस मुद्दामा तेजश्वीको अंशहक मार्न यसरी तारतम्य मिलाइएको छ कि एकातिर बबीतर्फकी छोरी तेजश्वी गर्भमा नआइसक्दै पहिलो श्रीमती अर्चनासँग मानो छुट्टिइसकेको देखाउन १० महिनाअघिको मिति कायम गरिएको छ। अर्कोतिर तेजस्वीले ललितपुर महानगरपालिका वडा नं ४ बाट २०७९ पुस २० गते जन्मदर्ता प्राप्त गरेको थाहा पाएपछि हतारहतार माघ ९ गते मोरङ पुगेर मुद्दा दर्ता गरी सबै प्रक्रिया पुर्‍याई भोलिपल्टै मिलापत्रमा टुंग्याइएको छ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले यहीँनिर शिवेन्द्रको नियतमा खोट देखाउँदै फैसलामा लेखेको छ, ‘अर्चना बस्नेत र शिवेन्द्रबहादुर बस्नेत स्वयंले भरेको स्वघोषणा फारममा दुवैको स्थायी वतन, हाल बसोबास गरेको वतन, म्याद तामेल गर्ने वतनसमेत ललितपुर उल्लेख छ। निजहरू मोरङमा रहेको कुनै वस्तुगत प्रमाण पेस गरेको देखिँदैन। दुवै जना ललितपुरमा रहेको देखिँदा त्यहाँको जिल्ला अदालतमा नै अंश मुद्दा दर्ता गरी मिलापत्र गर्नुपर्नेमा सो नगरी निजहरू नरहेको यस मोरङ जिल्ला अदालतमा अंशचलन मुद्दा दायर गरी गरेको मिलापत्र प्रथमदृष्टिमा नै मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ६, १६, १८ को उपदफा (३) बमोजिम अधिकार प्राप्त अदालतबाट भए/गरेको देखिँदैन।’

मुद्दामा सबै अंशियारलाई वादी–प्रतिवादी नबनाई केवल अर्चना बस्नेत र शिवेन्द्रबहादुर बस्नेतले पूर्वनियोजित रूपमा २ जना मात्रै उपस्थित भई पहिलो दिन फिराद दायर र दोस्रो दिन मिलापत्र गरेको पनि फैसलामा भनिएको छ।

अंशबण्डा गर्नुपर्ने सबै अंशबण्डा हुने सगोलको सम्पत्ति र ऋण धनको फाँटवारीसमेत नदेखाई घरैमा नगद बुझेको भन्दै मिलापत्र गरेको देखाउनु पनि बदनियतपूर्ण रहेको अदालतले भनेको छ।

‘मिलापत्रका सर्तहरू हेर्दा पनि अर्चना र शिवेन्द्रबीच २०६० असोज २५ गते मानो छुट्टिएको मिति कायम गरेको छ,’ गएको असार ४ फैसला भई हालै सार्वजनिक गरिएको पूर्ण पाठमा लेखिएको छ, ‘त्यस मितिमा मानो छुट्टिएको मिति कायम गर्नुपर्ने कुनै वस्तुगत आधार देखाउन सकेको देखिँदैन। तेजश्‍वी बस्नेतको जन्मदर्ता प्रमाणपत्रमा उनको जन्म मिति २०६१ साउन २७ उल्लेख भएकोले उनी जन्मनुभन्दा ठिक १० महिना अगाडिको मिति मानो छुट्टिएको भनी उल्लेख गरेको देखिन्छ। उक्त तथ्यले के पुष्टि गर्दछ भने तेजश्‍वी गर्भमा बस्नुभन्दा नै अगाडि अर्चना मानो छुटिइसकेको देखाउन खोजिएको भन्ने देखिन्छ।’

त्यस्तै, मिलापत्रका सर्तको रूपमा अर्चना बस्नेतको नाममा भएको चल अचल सम्पत्तिमा शिवेन्द्रले दाबी नगर्ने, ३ छोराछोरीको अंश भाग शिवेन्द्रको जिम्मामा रहने भनी उल्लेख छ।

‘सो सर्तसमेत सामान्य रूपको देखिँदैन,’ अदालतले भनेको छ, ‘उक्त सर्तले अर्चना बस्नेतको नाममा भएको सम्पत्तिमा अरूको हक नलागोस् भन्ने अभिप्रायः देखिन्छ। यसरी यो मिलापत्र अधिकारक्षेत्रविहीन अदालतबाट भएको र अर्चना र शिवेन्द्रले एकापसको दूषित मनोभावले अस्वाभाविक सर्तहरू राखी छोरीको अंश हकलाई प्रत्यक्ष रूपमा प्रभावित हुने गरी भएकोले बदर गरिदिएको छ।’

यति मात्र होइन, यस मिलापत्रअनुसार कुनै काम कारबाही भए/गरेका रहेछन् भने ती सम्पूर्ण कामकारबाही बदर हुने ठहर पनि जिल्ला अदालतले गरेको छ।

यो फैसलासँगै अब कान्छी श्रीमती बबी र उनकी छोरीका तर्फबाट ललितपुर जिल्ला अदालतमा दायर गरिएका अंश, मानाचामल तथा घरेलु हिंसासम्बन्धी मुद्दा जाग्नेछन्। (तेजश्वी परिवर्तित नाम हो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad