समाज


कर्मयोगी तुलसीप्रसाद भट्टराईको स्मृति ग्रन्थ लोकार्पण

कर्मयोगी तुलसीप्रसाद भट्टराईको स्मृति ग्रन्थ लोकार्पण

नेपालखबर
साउन ३१, २०८२ शनिबार २१:१५, काठमाडौँ

सर्लाहीको हरिवन-८ निवासी स्व.तुलसीप्रसाद भट्टराईको स्मृति ग्रन्थ लोकार्पण भएको छ। 

शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा तुलसी-गणेश भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा तुलसीप्रसाद भट्टराई आफैँले लेखेका विभिन्न रचना र उनको स्मृतिमा विभिन्न व्यक्तिले लेखेका लेखहरूको संग्रहसहितको कृति ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण गरिएको हो। 

कार्यक्रममा पूर्व रक्षामन्त्री एवं सर्लाही- ३ बाट निर्वाचित सांसद हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्की, पूर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्की, पूर्व सांसद मीना ज्ञवाली, स्व. भट्टराईकी धर्मपत्नी रत्नमञ्जरी भट्टराई, डा.तुलसीप्रसाद भट्टराई, कीर्तनकृष्ण भट्टराई लगायतले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे। 

वि.सं.१९९७ साल असार ४ गते ओलखढुंगामा जन्मिएका भट्टराईको ०८१ साल साउन १८ गते निधन भएको थियो। ०२८ सालमा ओखलढुंगाबाट सर्लाही बसाइँ आएका भट्टराईले आफ्नो जीवनकालमा ओखलढुंगा र सर्लाहीमा समाज सुधारका पक्षमा विभिन्न योगदान पुर्याका थिए। 

भट्टराईको निधनपछि उनका छोराहरू कुमार, अरुण र नरेश भट्टराईले आफ्ना बुवा र जेठा दाजु गणेश भट्टराईको स्मृतिमा तुलसी-गणेश भट्टराई स्मृति प्रतिष्ठान गठन गरेर विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएका छन्। 

तुलसीप्रसादका जेठा छोरा गणेशको बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेकै अवस्थामा २०७५ साल माघ १२ गते बारामै भएको सवारी दुर्घटनामा परेर निधन भएको थियो। 

तुलसीप्रसाद भट्टराईले आफ्नो जीवनकालमा हरिवनमा स्कुल, क्याम्पस स्थापनादेखि सडक, बाटोघाटो निर्माण लगायतका काममा योगदान गरेका थिए। 

स्मृतिग्रन्थमा उनका १८ वटा लेख रचनासँगै अन्य चालीस जना लेखकले उनको सामाजिक जीवनका विभिन्न पाटापक्षका बारेमा लेखेका लेख रचनाहरू संग्रहित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad