पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जनाविरूद्ध धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।
काठमाडौँ जिल्ला अदालतले बिहीबार उनीहरूको बयान लिएपछि जनही १० हजार रूपैयाँ धरौटीमा छाडेको छ।
न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले यो आदेश गरेको हो।
गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दा खेप्नेमा सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलाञ्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुलका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।
ढकाल र मैनालीले पशुपतिमा जलाउँदै गरेको शवको हड्डी ठाकुर र यादवलाई ५ सय रुपैयाँमा बेचेको आरोप छ।
रामनन्दन ठाकुरले हड्डी किन किने र कसरी कारोबार भयो त? यसबारे रामनन्दनले प्रहरीसँगको बयानमा विस्तृत खुलाएका छन्।
रामनन्दन ठाकुरको बयान यस्तो छ-
म विगत २५ वर्षदेखि काठमाडौँमा बसोवास गरी फर्निचरसम्बन्धी व्यवसाय गर्दै आइरहेको छु।
काठमाडौँमा बसोबास भएकोले म सँधैजसो पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जान्छु। करिब २ महिनाअगाडि पशुपति मन्दिर दर्शन गर्न आउँदा एक जना जोगीबाबासँग भेट भयो। मैले उनलाई मेरो हात देखाएँ। उनले ‘तिमीलाई केही संकट आइपर्नेछ’ भने।
मैले संकटबाट बच्ने उपाय सोधेँ। उनले भने, ‘मानिस जलाएको खरानी लिई पूर्वतर्फ फर्किएर पूजा गरी बाग्मतीमा बगाइदिए तपाईँको संकट टर्छ।’
त्यसपछि मैले कसरी मानिस जलाएको निकाल्नु भनी सोचेँ। २०८२ साउन २३ गते दिनको अन्दाजी ३ बजे पशुपति आर्यघाटमा पुग्दा २ नम्बर चितामा लाश जलाइरहेको देखेँ।
उक्त लाश जलाउने व्यक्ति गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल रहेछन्। उनलाई मैले बोलाएर भनेँ, ‘मलाई थोरै मानिस जलाइसकेपछिको खरानी उपलब्ध गराइदिनू। पूजा गर्नुपर्नेछ।’
उनले एक हजार रुपैयाँ मागे। मैले ‘हाल मसँग त्यति धेरै नगद छैन’ भनी चार सय दिएँ।
उनले केहीबेर पर्खन भने। उनले भनेबमोजिम म कुरिरहेँ। पछि लाश पूरै जलिनसक्दै ढकालले लाशबाट खरानी निकाली बट्टामा राखेर विनायक मैनालीलाई दिए। मैनालीले मलाई दिए।
त्यसपछि मैले उक्त बट्टा लिई भष्मेश्वरस्थित पानीको धाराअगाडि आएँ।
मैले उक्त खरानीको धुलो टाउकोमा घुमाई बाग्मती नदीमा बगाइदिएँ। त्यसपछि आफ्नो हात धोई आर्यघाट पारितर्फको बाटो हुँदै मिश्रीलाल यादवले चलाएको मोटरसाइकलको पछाडि बसेर आफ्नो घरतर्फ गएँ।
मेरो जीवनमा संकट परेको छ, मानिस जलाएको खरानीले नदीमा सेलाएर पूजा गर्नुपर्छ भनी जोगीबाबाले बताएको हुनाले सोहीअनुसार पूजा गर्नको लागि खरिद गरेको हुँ।
मैले पशुपति आर्यघाटमा लाश जलाइरहेका ढकालसँग सम्पर्क गरेको हुँ। उनलाई बोलाई लाश जलाइसकेको खरानी निकालिदिन भन्दा ‘केही समस्या हुँदैन?’ भनी सोध्दा उनले ‘केही फरक पर्दैन, यहाँ धेरैले लिई जाने गरेका छन्’ भनी बताए।
मानिस जलाइसकेको खरानी तथा मृत मानिसको हड्डी निकालेवापत ढकालले नगद एक हजार रूपैयाँ माग गरेका थिए। मैले उनलाई चार सय र विनायक मैनालीलाई एक सय गरी जम्मा पाँच सय रूपैयाँ दिएको हुँ।
मैले कहीँकतै लैजानको लागि उक्त खरानी लिएको होइन। विनायक मैनालीसँग उक्त खरानी भएको बट्टा लिइसकेपश्चात् मैले उक्त बट्टा खोली हेरिनँ। आफ्नो टाउकोमा घुमाएर बाग्मती नदीमा बगाइदिएको हुँ। म धेरै लेखपढ गर्न नजान्ने भएकोले पत्रपत्रिका पढ्ने तथा समाजिक सञ्जाल हेर्ने गर्दिनँ।
Shares

प्रतिक्रिया