हिजो नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएका शिक्षकहरूले आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। गएको बुधबार उनीहरूले कांग्रेस कार्यालयमा धर्ना दिएका थिए।
नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएको हो।
सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघ असन्तुष्ट छ। विधेयक सच्याउन माग गर्दै महासंघले चरणवद्ध आन्दोलन गर्दै आएको छ।
महासंघकी सह-अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमतिको भावनाअनुसार विधेयक नआएपछि पुनः आन्दोलन गर्नुपरेको बताइन्।
प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयलाई बेवास्ता गरेको महासंघको आरोप छ।
यसैबीच शिक्षक महासंघले विधेयकको विरोधमा आज देशभरका ७५३ वटै स्थानीय तहमा पनि धर्ना दिएको छ। महासंघका स्थानीय कमिटीहरुले स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएका हुन्।
Shares

प्रतिक्रिया