राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा अरनिको पाँडे एउटा फौजदारी कसुरको अभियोगमा शुक्रबार २० हजार धरौटी बुझाएर काठमाडौँ जिल्ला अदालतबाट रिहा भए।
बेलायत बस्ने एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत गालीगलौज गर्दा उनी प्रहरी फन्दामा परेका थिए।
ती महिलाले ‘मेरो छोराको साइन्स अध्ययन गर्न रुचि रहेकोले केही कुरा बुझौँ भनी सुझाव लिनको लागि सम्पर्क गरेको तर पाँडेले प्रयोग गर्ने जिमेल र ह्वाट्सएपबाट विभिन्न अश्लील म्यासेजहरू पठाई मानसिक यातना दिएको, अपमान गरेको, दुःख र हैरानी दिने क्रियाकलाप गरेको’ भन्दै नेपाल प्रहरीको साइबर ब्युरोपमा उजुरी दिएकी थिइन्।
भदौ ५ गते ती महिलाले जाहेरी दिएपछि साइबर ब्युरोले उनी पाँडे काम गर्ने संस्था अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)मा समेत पत्राचार गरी विवरण तथा कागजात झिकाएको थियो। गुगल र ह्वाट्सएपमा पनि पत्राचार गरी मेसेज, ठेगाना र परिचय यकिन गरेको थियो।
पाँडेको बयानअनुसार, जाहेरी दिने महिलासँग उनको सम्बन्ध र चिनजान पहिलेदेखि नै थियो। सरकारी वकिलको रोहबरमा प्रहरीसमक्ष दिएको बयानमा ती महिलासँग पहिलेदेखि नै चिनजान भएको उनले स्वीकार गरेका हुन्। २०६९ सालतिरै महिलासँग आफ्नी श्रीमतीमार्फत चिनजान भएको र त्यसयता समयसमयमा पारिवारिक भेट हुने गरेको उनले खुलाएका छन्।
पाँडेले ती महिलाले आफूलाई पटकपटक कल गर्ने गरेको र पछिल्लोपटक असार २५ गते राति ह्वाट्सएपमा कल गरेको उल्लेख गरेका छन्।
बयानमा उनले ती महिलाले श्रीमती घरमा भए-नभएको सोध्ने र भेटौँ भन्ने गरेको पनि बताएका छन्।
‘निजले एकतर्फी मप्रति आशक्ति राख्न खोजेको जस्तो मैले महसुस गरी ०७५-०७६ सालदेखि नेपाल आएर कल गर्दासमेत वास्ता नगरी भेटघाटसमेत नगरी बस्दै आइरहेको अवस्थामा यसै सालको असार २५ गते राति मेरो दाँतको अपरेसन गरी दुखाइ कम गर्ने पेनकिलर सेवन गरी घरमा आराम गर्दै गरेको अवस्थामा ह्वाट्सएपमा अडिओ कल गरी मेरो श्रीमती घरमा भए-नभएको सम्बन्धमा सोधी आफू बेलायतबाट नेपाल आउन लागेको र भेट गरौँ भनी अनुरोधसमेत गरेको’ उनको दाबी छ।
उनले असार २५ गते राति कुरा गर्दागर्दै फोन काटिएको, श्रीमती नेपाल नभएको मौका पारेर मात्रै भेट्न बोलाउने गरेको आफूलाई मन नपरेको पनि उनको जिकिर छ।
त्यस्तै पाँडेले ती महिलालाई ‘तिम्रो श्रीमान्ले छोड्यो? किन छोड्यो?’ भनेर पनि मेसेजमा सोधेका छन्।
तर, आफू दाँतको अपरेसन गरेर दुखाइ कम गर्ने पेन किलर खाएको अवस्थामा के-कस्तो म्यासेज गरियो भन्ने सम्झना नभए पनि आफैँले पठाएको हुन सक्ने बताएका छन्।
पाँडेले ती महिलासँग भित्री सम्बन्ध रहेको खुलाउँदै तथानाम शब्दहरू प्रयोग गरेर पठाएको सन्देश आफ्नै भएको बताएका छन्।
यस्तो छ पाँडेको मेसेज
महिलाले इमेल र ह्वाट्सएपमा पाँडेबाट प्राप्त गरेको मेसेज जाहेरीमा उल्लेख गरेकी छन्। प्रहरीले उक्त मेसेज पाँडेले नै पठाएका हुन् कि होइनन् भनी सनाखत गराएको छ।
मेसेजमा उनले ती महिलासँग सुतेको र रतिक्रीडा गरेकोमा पछुतो लागेको बताएका छन्। ‘तिम्रो छोराले पनि घृणा गर्नुपर्ने हो,’ उनले लेखेको भनिएको मेसेजमा छ।
पाँडेले ती महिला आफूसँग जिस्किन खोज्ने, बोलाउने गरेको तर आफूले वास्ता नगरेको पनि बयानका क्रममा भनेका छन्।
महिलाले सम्बन्ध विच्छेद गरेर ब्वाइफ्रेन्ड पनि बनाएको तर आफूमाथि यौन व्यवहार गर्न खोजेको सन्देश इमेलबाट पाँडेले बयानमा जिकिर गरेका छन्।
उनले आफूसँग जहिल्यै सहयोग मागिरहने भन्दै ती महिलामाथि भन्नै नमिल्ने शब्द लेखेका छन्। उनले आफूलाई कहिल्यै मेसेज नगर्न आग्रह गरेको पनि बयानमा बताएका छन्।
पाँडे भदौ ११ गते बुधबार पक्राउ परेका थिए। नेपाल प्रहरीको साइबर ब्युरोले २ रात हिरासतमा राखेर शुक्रबार अदालतमा बुझाएको थियो।
उनीविरूद्ध विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा मुद्दा दर्ता भएकै दिन शुक्रबार बयान र थुनछेक बहस सकेर धरौटीमा छाडिएको छ।
पाँडे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य हुन्। उनी रास्वपाकै कोटाबाट राष्ट्रिय योजना आयोगका सदस्य पनि भएका थिए।
२०७९ को निर्वाचनमा सुरुमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारका रूपमा आफूलाई प्रचार गरे पनि पछि दाबी छाडेर डा तोसिमा कार्कीलाई समर्थन गरेका थिए।
Shares

प्रतिक्रिया