जेन जीले सुरु गरेको प्रदर्शन हिंसात्मक हुँदै नेपालमा सरकार नै ढल्नेसम्मको घटनालाई अन्तर्राष्ट्रिय मिडियाले निकै प्राथमिकता दिएका छन्।जेन जीले प्रदर्शन सुरु गरेदेखि प्रधामन्त्रीले राजीनामा दिएसम्मको घटनाको चर्चा गर्दै त्यसबारे टिप्पणी गरेका छन्।
नेपालका दुई छिमेकीहरूमध्ये भारत र चीनका सञ्चारमाध्यमहरूमा छिनछिनका घटनाक्रमको मसिना विवरण समेत दिइएको छ।
भारतको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाले ‘नेपालमा वर्षौंदेखि जरा गाडेको नातावाद, भ्रष्टाचार र बेरोजगारीप्रति असन्तुष्टि’ शीर्षकमा समाचार छापेको छ।
समाचारमा एमाले विधान महाधिवेशनमा जान लागेका कोसी प्रदेशका मन्त्री राम रानामगरको गाडीले एक बालिकालाई ठक्कर दिएर भागेको र त्यसलाई प्रधानमन्त्री ओलीले सामान्यीकरण गर्दा आक्रोशको लहर त्यतिबेलादेखि नै उत्पन्न भएको उल्लेख गरेको छ।
यसबारे त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र पढिरहेकी २० वर्षीया मीरा थापाको भनाइ प्राथमिकताका साथ उद्धृत गरेको छ। जसमा उनले भनेकी छिन्- ‘उनीहरूले बच्चाको पीडालाई बेवास्ता मात्र गरेनन्, उनीहरूले हामी महत्वपूर्ण छैनौँ भनेर पनि देखाए। हामी पहिले नै भ्रष्टाचार, नातावाद र बेरोजगारीप्रति क्रोधित थियौँ। यही त झिल्को थियो।’
अर्को भारतीय अंग्रेजी अखबार इन्डियन एक्सप्रेसले ‘जेन जीको प्रर्शनले नेपालको राजधानीलाई हल्लायो, १५० किलोमिटर टाढाको सिमानामा समेत त्यसको प्रभाव महसुस भयो’ भन्ने शीर्षकमा समाचार लेखेका छ।
समाचारमा रक्सौल र वीरगञ्जलाई जोड्ने भारत-नेपाल मैत्री पुलमा १९ वर्षीया चञ्चला कुमारी र सशस्त्र सीमा बलबीचको संवादलाई उल्लेख गरेको छ। जसमा काठमाडौँमा भइरहेको आशान्तिले ट्युसन पढ्न भारत गएकी उनी नेपाल फर्कन नपाएको विषय उल्लेख गरेको छ।
इन्डिया टुडेले भने यो आन्दोलनबाट नेपालमा फेरि राजतन्त्र फर्किने सम्भावनालाई लिएर दुईवटा समाचार छापेको छ। पहिलो समाचार ‘के नेपालको अराजकताले राजतन्त्रको पुनरागमन गराउने छ?’ शीर्षकमा छापेको छ।
दुई दिनको आन्दोलनमा राजा आउनुपर्छ भन्ने नारा लागेको भए पनि राजतन्त्रको पुनरागमनको प्रश्न जटिलताले भरिएको उल्लेख गरिएको छ। ‘जेनजीको नेतृत्वमा रहेका प्रदर्शनकारीहरू रोजगारी, भ्रष्टाचार र अभिव्यक्तिबारे बढी चिन्तित छन्,’ समाचारमा भनिएको छ, ‘जब पूरा आन्दोलन नै नेपालको भविष्यका लागि हो भने राजतन्त्रको पुनरागमन उनीहरूका लागि पछाडि फर्किने कदम हुनेछ।’
त्यस्तै अर्को समाचार ‘नेपाली सेना प्रमुखको पछाडि हिन्दु राजाको तस्बिर। के यसमा कुनै सन्देश छ?’ शीर्षकमा लेखेको छ।
‘मंगलबार साँझ नेपाल सेना प्रमुख अशोकराज सिग्देलको राष्ट्रलाई गरेकाे सम्बोधनमा शान्ति र व्यवस्था कायम राख्नको लागि सामान्य अपिलहरू समावेश थिए,’ समाचारमा भनिएको छ, ‘तर, धेरैको ध्यान त उनले पछाडि देखाएको चित्रमा पुग्यो।’
समाचारमा दुर्गा प्रसाईंले राजतन्त्रको माग गर्दै काठमाडौँमा गरेको प्रदर्शनसँग जोड्दै भनिएको छ, ‘हालको परिस्थितिमा यो तस्बिरको महत्व अझ बढेको छ। यस वर्षको सुरूमै, काठमाडौँमा राजतन्त्रको पुनरागमन माग्दै मार्च गर्ने पूर्वमाओवादी गुरिल्ला दुर्गा प्रसाईंले हालै जेनजीको नेतृत्वमा भइरहेको प्रदर्शनको समर्थन गरेका छन् र अहिले हिमाली राष्ट्रको राजनीतिक भविष्यबारे छलफलमा संलग्न छन्।’
त्यस्तै द हिन्दुले आन्दोलनले नेपालको लोकतान्त्रिक संरचनागत असफलता देखाएको र यसले देशको राजनीतिक भविष्यबारे चिन्ता बढाएको उल्लेख गरेको छ।
‘साउन २४ गते काठमाडौँका सरकारी भवनहरूमा लागेको आगोले केवल तत्कालीन संकट मात्रै होइन, नेपालको व्यापक समस्या पनि उजागर गर्यो,’ समाचारमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा भएता पनि प्रदर्शनकारीहरूले संसद्, मन्त्री निवास तथा सञ्चार कार्यालयमा आगो लगाउँदा हिंसाले नेपालको लोकतान्त्रिक प्रयोगका संरचनागत असफलताहरू देखायो र देशको राजनीतिक भविष्यबारे चिन्ताजनक प्रश्न उठायो।’
चिनियाँ अखबार चाइना डेलीले ‘१९ जनाको मृत्यु हुनेगरी घातक प्रदर्शन भएपछि नेपालका प्रधानमन्त्रीले राजीनामा दिएको’ उल्लेख गरेको छ।
‘सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको एक दिनपछि प्रदर्शनकारीले निषेधाज्ञा उल्लघंन गर्दैै प्रहरीसँग झडप गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनमा दिएका हुन्,’ समाचारमा भनिएको छ, ‘१९ जनाको मृत्यु र १०० जनाभन्दा बढी घाइते भएपछि ओली सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध खोल्यो।’
हङकङको साउथ चाइना मर्निङ पोस्टले ‘भ्रष्टाचारविरुद्धको प्रदर्शनपछि नेपालका प्रधामन्त्रीको राजीनामा, तर अनिश्चिता कायमै’ शीर्षकमा समाचार लेखेको छ। यसले देशलाई नयाँ राजनीतिक अनिश्चितातर्फ धकेल्ने भन्दै लेखिएको छ, ‘७३ वर्षे ओलीको निर्णयले देशलाई नयाँ राजनीतिक अनिश्चिततामा धकेल्छ।’
त्यस्तै अमेरिकी अखबार न्युयोर्क टाइम्सले सुरक्षा बलले सरकार विरोधी प्रदर्शनमा गोली हान्न सुरु गरेको २ दिनपछि कम्तीमा २२ जनाको मृत्यु भएको र सयौं घाइते भएको भन्दै लेखेको छ, ‘अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले बुधबार नेपालको अवस्था नजिकबाट हेर्नेछन् कि सुरक्षा बलहरूले थप बल प्रयोग गर्छन् कि गर्दैनन्।’
सम्भ्रान्तहरूले आफ्नो छोराछोरीका लागि सम्पत्ति थुपारेको भन्दै प्रदर्शनकारीले क्रोधित भएर प्रदर्शन गरेको समेत समाचारमा उल्लेख गरिएको छ। ‘नेपालमा पछिल्लो तीन दशकमा गरिबीको दर निकै घटेको छ, तर यस साता सडक प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूसहित धेरै नेपालीहरू अभिजात वर्गका केही नेपालीले आफ्ना छोराछोरीका लागि धेरै सम्पत्ति जम्मा गरिरहेको विषयमा क्रोधित छन्,’ समाचारमा उल्लेख गरिएको छ।
अर्को अमेरिकी समाचार संस्था सीएनएनले धेरै पहिलेदेखि क्रोध बढेको र सामाजिक सञ्जाल बन्द गरेपछि सडकमा विस्फोट भएको उल्लेख गरेको छ। ‘दशकौंसम्म फैलिएको भ्रष्टाचारको कारण सरकारविरुद्धको क्रोध पहिले नै उम्लिरहेको थियो, र यो क्रोध सरकारले फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, युट्युब र एक्स जस्ता सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द गरेपछि राजधानीका सडकमा विस्फोट भयो।’
त्यस्तै मध्यपूर्वको समाचार संस्था अलजजिराले प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो भ्रष्टाचारविरुद्धका प्रदर्शनबीच राजीनामा दिएको उल्लेख गरेको छ।
‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बढ्दो भ्रष्टाचारविरुद्धका प्रदर्शनका बीच राजीनामा दिए,’ समाचारमा भनिएको छ, ‘यो राजीनामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि सुरु भएको प्रर्दशनमा सुरक्षा बलले १९ जनाको हत्या गरेपछि आएको हो।’
Shares

प्रतिक्रिया