समाज


जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित आयोगले आज काम थाल्ने

जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित आयोगले आज काम थाल्ने

फाइल तस्बिर : जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की


नेपालखबर
असोज ९, २०८२ बिहिबार १०:१, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज (असोज ९ गते) काम सुरु गर्ने भएको छ। 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँचबुझ आयोगका पदाधिकारीले बुधबार शपथ खाएका थिए। विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोगले अब आजदेखि छानबिन प्रक्रिया अघि बढाउने भएको हो। 

पाँच कार्यादेश पाएको आयोगले कार्य प्रारम्भ गरेको मितिले तीन महिनाभित्र रायसहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नुपर्नेछ। 

यस्ता छन् जाँचबुझ आयोगका ५ कार्यादेश :
१) २०८२ भदौ २३ र २४ गते काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने

२) घटना घट्नुका कारणका सम्बन्धमा जाँचबुझ गरी सोको यकिन रायसुझावसहितको प्रतिवेदन पेस गर्ने

३) भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने

४)  भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझावहरू पेस गर्ने

५) प्रतिवेदनमा उल्लेख भएका सुझावहरू कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने।

यस्तो छ, जाँचबुझ आयोगको कार्यप्रणाली
(क) आयोगले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आफ्नो कार्यसम्पादन गर्नेछ।

(ख) आयोगले स्वतन्त्र र निष्पक्ष ढंगले कार्य गर्नेछ र कसैको दबाब वा प्रभावमा पर्ने छैन।

४. जाँचबुझ आयोगको समयावधि र जनशक्ति:
(क) आयोगले कार्य प्रारम्भ गरेको मितिले तीन महिनाभित्र रायसहितको प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ।

(ख) आयोगको कार्यालयमा आवश्यक पर्ने सात जना कर्मचारी (सहसचिव-१, उपसचिव-१, शाखा अधिकृत-१,
नायब सुब्बा-१, कम्प्युटर अपरेटर-१, हलुका सवारी चालक-१ र कार्यालय सहयोगी-१) गृह मन्त्रालयले उपलब्ध गराउने।

५. जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यको सेवा-सुविधा र अन्य व्यवस्थाः

(क) आयोगका अध्यक्षलाई नेपाल सरकारको मन्त्री सरहको पारिश्रमिक र सवारी चालक, इन्धन, सवारीसाधन तथा सञ्चारबापत मासिक साठी हजार रुपैयाँ उपलब्ध गराउने।

(ख) आयोगका सदस्यलाई नेपाल सरकारको राज्यमन्त्री सरहको पारिश्रमिक र सवारी चालक, इन्धन, सवारीसाधन तथा सञ्चारबापत मासिक साठी हजार रुपैयाँ उपलब्ध गराउने।

(ग) आयोगको सचिवालयमा काम गर्ने कर्मचारीलाई बहाल रहेको पदको सुरु स्केलको २५ प्रतिशत भत्ता उपलब्ध गराउने।

(घ) आयोगलाई आवश्यक पर्ने मसलन्द, फर्निचरलगायतका सामान गृह मन्त्रालयले व्यवस्थापन गर्ने।

(ङ) आयोग र आयोगको सचिवालयलाई आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने।

जाँचबुझ आयोगको सचिवालय काठमाडौँमा रहनेछ भने सम्पर्क कार्यालय गृह मन्त्रालयमा राखिनेछ।

भ्रष्टाचारविरुद्ध जेनजीले गत भदौ २३ गते गरेको प्रदर्शनमा सरकारले दमनको नीति अपनाउँदा प्रहरीको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ युवाको मृत्यु भएको थियो भने भोलिपल्ट भदौ २४ गते आन्दोलन अझ उग्र हुँदा थप मानवीय र भौतिक क्षति भएको थियो।

आन्दोलनमा परी अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने अर्बौँको भौतिक संरचना क्षति भएको छ।   

आन्दोलनकारीहरूले गोली चलाउन निर्देशन दिने तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad