समाज


‘फ्लड लाइट’ बालेर पन्छाइयो तुइनखोलाको पहिरो

‘फ्लड लाइट’ बालेर पन्छाइयो तुइनखोलाको पहिरो

नेपालखबर
असोज ९, २०८२ बिहिबार १९:४८, काठमाडौँ

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो पन्छाइएको छ।

अँध्यारोमा ‘फ्लड लाइट’ जडान गरेर पहिरो पन्छाउने काम सकिएको हो। 

अब सडक सफा गर्न बाँकी छ। सडक सफा गरेपछि आज रातिबाट नै सवारी साधन चल्ने सम्भावना रहेको प्रत्यक्षदर्शीले जनाएका छन्।

धमाधम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले साँझ ७ बजे सो कामबारे जानकारी सेयर गर्दै ‘फ्लड लाइट’ जडान गरेर काम धमाधम भइरहेको बताएको थियो।

डिभिजन कार्यालयले बिहीबार दिउँसोम्मि तुइनखोलामा खसेको पहिरो ६० प्रतिशत हटाइएको र रातिसम्म पहिरो पन्छाइसक्ने आकलन पनि गरेको थियो।

कार्यालयका अनुसार पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरि निरन्तर रुपमा काम गरेको हो।

यसको अलावा दुवैतर्फ १/१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन्।

साथै, काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ। पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरूका कारण कठिनाइ भएको डिभिजन कार्यालयले जनाएको छ। 

पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरूका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरू पनि थप गरिएको छ। 

पटकपटक ठूलो पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकमा गएको एक सातादेखि  गाडी चल्न सकेका छैनन्। 

तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ। 

दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad