समाज


शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

नेपालखबर
असोज २६, २०८२ आइतबार १३:५४, दोधारा चाँदनी

शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ।

बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ। केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राख्छन्।

केन्द्रमा सङ्कलित फोहरलाई वर्गीकरण गरेपछि कुहिने फोेहरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहरलाई कबाडीमा बिक्री गरिन्छ। ३० करोड २५ लाख लगानीमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

करिब छ मेट्रिकटन क्षमता भएको केन्द्रमा अहिले दैनिक दुईदेखि तीन मेट्रिकटन मात्रै फोहर सङ्कलन भइरहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रका इन्जिनियर जयन्त भट्टले जानकारी दिए 'यो फोहरमैला व्यवस्थापन मात्रै नभएर प्रशोधन केन्द्र पनि हो, बजारबाट आउने विभिन्न फोहरलाई यहाँ वर्गीकरण गरिन्छ', भट्टले भने, 'थोरैभन्दा थोरै फोहर सेलमा राखेर माटोले पुरिन्छ यसले वातावरणलाई असर गर्दैन।'

बिहान फोहर सङ्कलक गाडी नगरको सहरी र ग्रामीण क्षेत्रमा डुलेर फोहर सङ्कलन गरेर ल्याउने यहाँले बताए। केन्द्रमा कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राखिने र कुहिने फोहरबाट ‘कम्पोष्ट’ मल तयार गरेर बिक्री गरिने योजना रहेको इञ्जिनियर भट्टले बताए।

यसले वातावरण स्वच्छ राख्न र फोहरमैलाको उचित व्यवस्थापनमा मात्रै नभई स्थानीयमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ।

निर्माणको काम सम्पन्न भएपछि गत भदौदेखि फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको निर्माण कम्पन्नी रमन केएस जेभीका साइट इञ्चार्ज उद्धवसिंह साउदले जानकारी दिए। 'हरेक दिन बिहान हामीले बजारबाट फोहर सङ्कलन गर्छौं, यहाँ ‘रिसाइकल’ हुन्छ', उनले भने, 'चाहिने फोहर छुट्याएर राख्छौँ, काम नलाग्ने फोहर सेलमा जम्मा गरिन्छ।'

फोहरमैला व्यवस्थापन केन्द्रमा १० वटा फोहर सङ्कलन गर्ने साधन छन्। आठ जना सरसफाइ कर्मचारी राखिएको छ। एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएको हो। 

रमन केएस जेभी धनगढीसँग २०७९ वैशाख २५ मा निर्माण सम्झौता भएको थियो। फोहरमैला व्यवस्थापन केन्द्रको क्षमता छ मेट्रिक टन रहेको भए पनि अहिले दैनिक क्षमताको आधा मात्रै फोहर सङ्कलन भइरहेको छ।

शुक्लाफाँटामा सञ्चालनमा आएको एकीकृत फोहर व्यवस्थापन केन्द्र कञ्चनपुरको पहिलो हो। यस्तै, फोहर व्यवस्थापन केन्द्र भीमदत्तमा पनि निर्माण गर्ने तयारी भए पनि त्यसका लागि स्थान नपाउँदा परियोजना फिर्ता भएको छ।

स्थानीयले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्दा त्यसले वातावरण प्रदूषित हुने भन्दै विरोध गरेपछि परियोजना फिर्ता भएको होे।

फोहरमैला व्यवस्थापन केन्द्रमा कुहिने फोहरबाट मलखाद बनाइने र नकुहिने तर पुनःप्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले यो वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad