कोरोना भाइरसकाे संक्रमण भएपछि चितवनको भरतपुर अस्पतालमा उपचाररत २७ वर्षका युवक निकाे भएका छन्।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले शनिबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार उनको लगातार दुईपटक (२४ घण्टाको फरकमा) नमुना परीक्षणको नतिजा नेगेटिभ अर्थात् कोरोना भाइरस नरहेको आएका हुन्।
‘यो भनेको कोरोना संक्रमण छैन भन्ने पुष्टि हो,’ सूचना अधिकारी पौडेलले टेलिफोनमा भने, ‘अब उनलाई डिस्चार्ज गर्नेबारे अहिले मेडिकल टिममा छलफल हुँदैछ।’
उनका अनुसार कोरोना संक्रमण भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा उनीसहित उनैका ६३ वर्षीया आमा आइसोलेसनमा छन्।
गत चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका-८ ब्रह्मनगरका ती आमा-छोरामा गत शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। तीमध्ये छोरा निको भएका हुन्।
यसअघि १० जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट घर फर्किसकेका छन्। यी युवक पनि डिस्चार्ज भए भने याे संख्या ११ पुग्नेछ।
यीसमेत गरेर अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या ४९ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया