समाज


धरहरा ३८ र रानीपोखरी ८८ प्रतिशत सम्पन्न, काम पुनः सञ्चालन

धरहरा ३८ र रानीपोखरी ८८ प्रतिशत सम्पन्न, काम पुनः सञ्चालन

समुन्द्रा घिमिरे
बैशाख २५, २०७७ बिहिबार ८:५२,

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनर्निर्माणको काम पुनः शुरु भएको छ।

लकडाउनका कराण रोकिएको धरहराको निर्माण गत शनिबार र रानीपोखरीको पुनःनिर्माण आइतबारदेखि शुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार सामाजिक दूरी र स्वास्थ्यलाई ध्यानमा राख्दै निर्माण पुनः सञ्चालन गरिएको हो। लकडाउनका कारण काठमाडौंमा नै रोकिएका पुराना कामदारबाट काम शुरु भएको उनले जानकारी दिए। धरहरा निर्माणको काम लकडाउनमा पनि केही हदसम्म भएकै थिए। पानी फाल्ने, ढुंगा फाल्ने काम मजदूरले जारी नै राखेका थिए।

‘लकडाउनमा धरहरा निर्माणका साना कामहरु भइरहेका थिए तर हामीले गत शनिबारदेखि निर्माणको कार्य शुरु गरेका हौँ, लकडाउनका अवधिमा सबै कामदारहरु एकै ठाउँमा सुरक्षित रुपमा बसेका थिए’, उनले भने, ‘काम शुरु हुनुभन्दा अगाडि र पछाडी दैनिक थर्मल गनले शरीरको तापक्रम नाप्ने, कामदारलाई मास्क, पञ्जा, स्यानिटाइजर र ढोकामा साबुनपानी राखिएको छ। बाहिरका मान्छेहरु भित्र आउन दिइएको छैन भने भित्रका कामदारहरु बाहिर निस्किएका छैनन्।’

हाल धरहरा पुनःनिर्माणमा हालसम्म रु ९० करोड खर्च भई ३८ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। हाल दैनिक ४५ कामदारले धरहरा पार्किङको तेस्रो बेसमेन्टको बाल्टा बनाउने कार्य गरिरहेका छन्। टावर बनाउने अरु कामदार सप्तरीमा रोकिँदा पुनः निर्माण गर्न नसकिएको उनले जानकारी दिए।

रानीपोखरी र मन्दिरमा २० कामदार
लकडाउनका कारण रोकिएको पुरातात्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण गत आइतबारदेखि पुनः शुरु भएको छ। काठमाडौंमा रोकिएका कामदारबाट पोखरी र मन्दिर निर्माण शुरु गरिएको उनले जानकारी दिए। उनका अनुसार हाल १९ जना कीर्तिपुर र काठमाडौंका स्थानीयवासीले पोखरीमा माटो राख्ने काम गरेका छन् भने सात कामदारले मन्दिर र पुलको काम शुरु गरेका छन्।

उनका अनुसार पोखरीको ८८ तथा पुल र मन्दिरको ४२ प्रतिशत निर्माण सम्पन्न भएको छ। हाल मन्दिरको दोस्रो तलामा काठका खाम राख्ने र पुलमा गुम्बज बनाउने कार्य भएको छ। सौन्दर्यका लागि भक्तपुरका कामदार ल्याउन नसक्दा काम रोकिएको उनले जानकारी दिए।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो। मन्दिर, मन्दिरसम्म जाने पुल र वरपरको बगैँचा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएरतुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो।

प्राधिकरणले मन्दिर निर्माणका लागि रु चौध करोड २७ हजार ५५७ मा ठेक्का र उपभोक्ता समितिमार्फत रानीपोखरीको पीँधमा कालो माटो राख्ने र वरपरका क्षेत्रमा पर्खाल लगाउने कार्यका लागि रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ। विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनःनिर्माणको शुरुआत रानीपोखरीबाट गरिएको थियो। भूकम्प गएको १० महिनापछि अर्थात् माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad