समाज


भयावह बन्दै अनलाइन ‘स्क्यामिङ’को जालो, सयौँ नेपाली उद्धारको पर्खाइमा

भयावह बन्दै अनलाइन ‘स्क्यामिङ’को जालो, सयौँ नेपाली उद्धारको पर्खाइमा

नेपालखबर
फागुन १३, २०८२ बुधबार २१:६, काठमाडौँ

सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) कार्यमा फसाउने कार्य भयावह रुपमा बढ्दै गएको छ। 

मुलुकमा रहेको बढ्दो बेरोजगारीको फाइदा उठाउँदै नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले दक्षिण–पूर्वी एसियाका थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्‍याएर ठगी धन्दामा लगाउने गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बुधबार मन्त्रालयमा आयोजित प्रेस बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले नेपाली नागरिकहरु दक्षिण–पूर्व एशियाका लाओस, म्यानमार, थाइल्याण्ड तथा कम्बोडियाका विभिन्न क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा पुग्ने बन्धक तथा शोषणमा पर्ने गरेको उल्लेख गरे।

उनकाअनुसार कम्प्युटरसम्बन्धी ज्ञान भएका संयुक्त अरब इमिरेट्स तथा मलेसियामा लामो समयदेखि कार्यरत नेपालीहरु यस्ता गिरोहको निशानामा पर्ने गरेका छन्। आकर्षक तलव र सुविधाको आश्वासन दिई उनीहरूलाई अनलाइन बेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीसम्बन्धी गतिविधिमा संलग्न गराउने र तोकिएको लक्ष्य पूरा गर्न नसकेको अवस्थामा शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको अधिकारीले जानकारी दिए।
 

उनले भने, ‘पछिल्लो सयममा ठुलो संख्यामा नेपालीहरु लाओस्, म्यानमार, थाइल्याण्ड र हालैका दिनमा कम्बोडियाका केही क्षेत्रमा सञ्चालित अनलाईन ठगी केन्द्रहरु सञ्चालन गर्नेजस्ता अपराधिक समूहको फन्दामा परी रोजगारीको प्रलोभनमा त्यहाँ पुगेका र बन्धक बनाइएका तथा शोषणमा परेका घट्नाहरु बढ्दै  गएका छन्।  विषेशतः कम्प्युटरसम्बन्धी ज्ञान भएका युएई, मलेसिया जस्ता देशमा लामो समयदेखि काम गर्दै आएका नेपालीहरु  चाहीँ अनलाइन स्क्यामिङको तार्गेटमा पर्ने गरेका छन्। उनीहरुले आकर्षण तलबको प्रलोभन देखाई उनीहरुलाई त्यहाँका अनलाई बेटिङ, क्यासिनो, गेमिङ तथा फिसिङ तथा क्रिप्टो ठगीका क्रियाकलापमा संलग्न गराउने गरेको  पाइएको छ।’

ठगीको जालोमा पर्ने पीडितहरूलाई निश्चित कार्यलक्ष्य (टार्गेट) तोकिने र पूरा गरे पारिश्रमिक दिने तर लक्ष्य पूरा गर्न नसके विभिन्न किसिमले यातना मन्त्रालयमा प्राप्त उजुरीमा उल्लेख गरिएको बताए। उनले अनलाइन ठगी केन्द्रमा फसेका नेपालीहरुको उद्धारका लागि थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदुतावासमार्फत सक्रिय पहल भइरहेको समेत जानकारी दिए।

अधिकारीकाअनुसार सम्बन्धित देशका सरकारी निकायसँग समन्वय गर्दै यस्ता आपराधिक गतिविधि निरुत्साहित गर्न कूटनीतिक प्रयास भइरहेको छ। उनले हालसम्म थाइल्याण्ड र म्यानमारका स्क्यामिङ केन्द्रबाट ३ सय २ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको समेत उल्लेख गरे। थप ३०९ जना उद्धार प्रक्रियामा रहेका रहेको त्यसमध्ये ३० जना म्यानमारस्थित एक स्क्यामिङ सेन्टरमा पर्खाइमा रहेको बताए।

यस्तै, गैरकानूनी रूपमा म्यानमार प्रवेश गरेका १८ जना नेपालीलाई त्यहाँको अदालतले एक वर्षको जेल सजाय सुनाएको तथा उनीहरुलाई रिहा गराउन औपचारिक पत्र पठाउने प्रक्रिया अगाडि बढाइएको अधिकारीले जानकारी दिए। 

उनले थपे, ‘निश्चित एउटा कामको लक्ष्य दिइने र सो पूरा गर्न सकेमा पारिश्रमिक पनि दिइने तथा पूरा गर्न नसकेको अवस्थामा विभिन्न किसिमले प्रताडित गर्ने गरेको पाइएको छ। झुटो आरोप लगाई चरम आर्थिक शोषण गर्ने, शारीरिक बन्धक बनाउने, निजको सट्टामा अर्को व्यक्ति नआएसम्म त्यहाँबाट छुटकारा नदिने, राहदानी नै खोसेर हिँडडुल गर्न प्रतिबन्ध  लगाउने लगायत पाइएको छ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले कम्बोडियामा मात्रै २ सय ४८ जना नेपालीहरू हाल उद्धारको पर्खाइमा रहेको बताए। उनकाअनुसार सन् २०२२ यता हालसम्म ३ सय ९२ जना नेपालीको उद्धार गरिसकिएको भएपनि ती देशहरूमा अझै कति नेपाली फसिरहेका छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन।

मन्त्रालयले यस अवधिमा ५ वटा ट्राभल एडभाइजरी र १२ वटा विज्ञप्ति जारी गरिसकेको समेत क्षेत्रीले जानकारी दिए। उनले २० देखि २५ वर्ष उमेर समूहका र कम्प्युटर तथा अंग्रेजी भाषाको ज्ञान भएका युवाहरूलाई लक्षित गरी गिरोहले ठगीका कार्यहरु गर्ने गरेको जानकारी दिए। 

उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ म हामीले अनलाइन ठगी केन्द्रहरुबाट ६८ जनाको उद्धार गरेका थियौँ। त्यसपछिका सालमा १ सय ५६ जना र र यो आर्थिक वर्षको हालसम्म १ सय ६८ जना पुगिसक्यो। यो ग्राफ वर्षैपिच्छे बढ्दै गएको देखिन्छ। अहिले कम्बोडियामा उद्धारको पर्खाइमा भएका नेपालीहरुको संख्या मात्रै हेर्दा पनि २ सय ४८ जना रहेको छ। उहाँहरु सबै एउटै भिसा प्रक्रियाबाट जानुभएको छैन। कम्प्युटर र आईटीको ज्ञान भएको तथा २० वरपर उमेर समूहका व्यक्तिहरु गएको देखिन्छ। कोही श्रमस्वीकृति लिएर गएका छन् भने कतिपय भ्रमण भिसामा गएका छन्। पछिल्लो समयमा नेपालबाट त्यो क्षेत्रमा जाने नेपालीको संख्या पनि बढ्दै गएको छ।’

क्षेत्रीले अधिकांश पीडितहरू गाउँघरका आफन्त वा चिनजानकै व्यक्तिबाट स्क्यामिङ सेन्टरमा पुग्ने गरेको पाइएको बताए। वैदेशिक रोजगारीको नाममा हुने यस्ता अनलाइन ठगी र साइबर दासताबाट जोगिन युवाहरूलाई विशेष सचेत रहन सरकारले आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad