समाज


नेपालमा एकसाथ तीन मौसम प्रणाली, कहाँ-कहाँ पर्ला पानी

नेपालमा एकसाथ तीन मौसम प्रणाली, कहाँ-कहाँ पर्ला पानी

मौसम महाशाखाले आज मंगलबार बिहान ८: ५५ बजे खिचेको काठमाडौँ उपत्यकाको तस्बिर


नेपालखबर
फागुन २६, २०८२ मंगलबार ८:३१, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। 

जसका कारण यतिबेला (मंगलबार बिहान) पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा आंशिक बादल लागेको छ।

मौसम महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यसैबिच आज दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। 

‘१२/१ बजेपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, उनले मंगलबार बिहान साढे ८ बजेतिर नेपालखबरसँग भने, ‘यतिबेला काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकेको छ। हुस्सु पनि लागेको छ।’ 

मौसमविद् पुडासैनीका अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा पनि मौसम खुल्ने सम्भावना छैन। 

मौसम महाशाखाका अनुसार आज राति पनि गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रमा साधरणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। अनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। 

यो पनि हेर्नुहोस्

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad