जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाखले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यतिबेला (मंगलबार बिहान) मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी स्थानमा मौसम मुख्तया सफा छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रलगायत बाँकी प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ।
यस क्रममा दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ तथा असिनासहित हल्का वर्षाको सम्भावना छ। देशका केही स्थानमा अपराह्नपछि हुरीको पनि सम्भावना छ।
यस्तै राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
काठमाडौँ उपत्यकामा के हुन्छ?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज पनि काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना त देखिएको छ तर सम्भावना कम छ।
उनका अनुसार काठमाडौँ उपत्यकामा वर्षा भयो भने अपराह्नपछि वा साँझपख मेघगर्जन/चट्याङसहित छिटपुट वर्षा हुने सम्भावना छ।
‘तर आज वर्षाको सम्भावना हिजोभन्दा कम देखिएको छ’, उनले नेपालखबरसँग भने।
Shares

प्रतिक्रिया