समाज


कैलाशबाट भूमिका बनिन्, अब संसद्‍मा सुनाउनेछिन् यौनिक तथा लैंगिक अल्पसंख्यकले भोग्दै आएका पीडा

२०४४ सालमा उनी घरको कान्छो छोराको रुपमा जन्मिएकी थिइन्
कैलाशबाट भूमिका बनिन्, अब संसद्‍मा सुनाउनेछिन् यौनिक तथा लैंगिक अल्पसंख्यकले भोग्दै आएका पीडा

सुनिता विष्ट
चैत ३, २०८२ मंगलबार १२:५८, हेटाैँडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी छिन् ३७ वर्षीया भूमिका श्रेष्ठ। जनजाती महिला क्लष्टरबाट रास्वपाको समानुपातिक सांसद निर्वाचित भएकी भूमिका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी हुन्। 

बुवा कुमार श्रेष्ठ र आमा रुकुमाया श्रेष्ठको कान्छो सन्तानको रुपमा २०४४ सालमा काठमाडौँमा जन्मिएका हुन् भूमिका। 

जेठी दिदी र माइलो दाजुपछि जन्मिएको उनी घरको कान्छो छोराको रुपमा जन्मिएकी थिइन्। 

उनको नाम परिवारले कैलाश श्रेष्ठ राखिदिए। जन्मदर्ता देखि स्कुल र नागरिकतासम्म नै उनको नाम कैलाश नै थियो। किशोरअवस्थामा पुगेपछि किशोरको शारीरिक अवस्थामा परिवर्तन आयो। 

आवाज पुरुषकै जस्तो। तर हिडाइँ, बोल्ने शैलीदेखि हाउभाउ भने ठ्याक्के महिलाकै जस्तै भयो। 

ढाकापोपी लगाएको टक्क परेको पुरुषको तस्बिर र नाममा नै नागरिकता बन्यो। सोही नागरिकताले उनलाई पटक÷पटक पीडा दियो। 

कतै जागिर नपाउने, जागिर पाए नागरिकता देखाएपछि रिजेक्ट हुने। यस्तै समस्यासँग जुध्दै आएकी उनले जीवनमा ठूलो संघर्ष गरिन्। 

केही वर्षपछि भने उनले आफूले खोजेजस्तै भूमिका श्रेष्ठकै नाममा नागरिकता पाइन्। उनको निवेदनअनुसार २३ चैत २०७७ को मन्त्रिपरिषद् बैठकले यसअघि कैलाश श्रेष्ठको नाममा अन्य लिंग कायम भएको उनको नागरिकताको विवरण संशोधन गरी भूमिका श्रेष्ठ र महिला लिंग कायम गरी नागरिकताको प्रतिलिपि दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई स्वीकृति दियो। 

तेस्रो लिंगीले नाम परिवर्तन गरी नागरिकता पाउने व्यक्ति देशमै आफू नै पहिलो भएको भूमिकाको दाबी छ।

भूमिकाले पुरुषबाट महिला बन्न १०-१२ लाख रुपैयाँ खर्चिन्। 

आजभन्दा १५-१६ वर्षअगाडि बैंकक गएर २ लाख रुपैयाँ खर्चिएर ब्रेस्ट इम्प्लान्ट गरिन्। हेर्दा छोरी नै देखियोस् भन्नाका लागि ब्रेस्ट इम्प्लान्ट गराएकी भूमिकाले करिब ५ वर्षअघि लिंगसमेत परिवर्तन गराइन्। 

विदेश गएर अपरेसन गराएर आएकी भूमिकाले अहिले महिलाको पहिचान बनाएकी छन्। तर उनले ट्रान्सजेन्डरको परिचय भने लुकाएकी छैनन्। यस विषयमा उनी खुलेरै बोल्छिन्।

यसरी यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण घर, विद्यालय, समाजदेखि सरकारी अड्डासम्मको झमेला भोगेकी भूमिकाले अब सदनमा यस समुदायको प्रताडना बोल्नेछिन्। 

लामो समयदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा सक्रिय रहेर काम गर्दै आएकी भूमिका नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट सांसद बन्ने पहिलो पात्र हुन्।  
 
रास्वपाले विश्वास गरेर सामानुपातिकतर्फको सांसद निर्वाचित गरेसँगै खुसी देखिएकी उनले यसअघि फरक पहिचान भएकै कारण पाएको पीडाहरुमा मल्हम लागेको बताइन्।

‘म माथि पार्टीले ठूलो विश्वास गरेको छ, यो विश्वासलाई कहिल्यै कमजोर बनाउने काम गर्दिनँ,’ उनले भनिन्, ‘सदनमा पुगेपछि म सबै क्षेत्रको साझा सांसद बन्छु। त्यसैले सबैलाई समेट्नु मेरो धर्म हो। तर, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पीडा, समाजले हेर्ने नजर र कानुनी अड्चन सबै निहाल्ने मौका पाएको व्यक्ति भएको कारण विशेषगरी यस समुदायको पीडा सदनमा बोल्छु। आवश्यक कानुन निर्माणमा मेरो पहलकदमी हुनेछ।’

उनले संसदीय यात्रा पहिलो पटक भएको कारण धेरै कुराहरु सिक्दै काम गर्ने बताइन्।

 ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले संविधानको धारा १४ र धारा १८ मा उलेख गरिएको अधिकार समेत पाएका छैनन्,’ उनले थपिन्, ‘त्यो अधिकारका लागि म लड्छु। वैवाहिक समानता, मधेसी, मुस्लिम समुदायलाई हेर्ने नजर परिर्वत गर्न पनि मेरो पहलकदमी रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad