होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भए पनि अहिले स्पष्ट मार्गचित्र नभएको शाहले बताए। आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ।
‘खासगरी पर्यटन क्षेत्रले यो देशको आर्थिक समृद्धिमा धेरै कुरा दिनसक्छ। यसका लागि एउटा प्रष्ट मार्गचित्र खाँचो छ,’ उनले भने, ‘जुन सरकारले अब ५ वर्ष काम गर्छ, ५ वर्षमा पर्यटन क्षेत्रले देशको विकास, आर्थिक गतिविधि कसरी गर्छ भन्नेबारे एउटा मार्गचित्र बनाउनुपर्छ।’
उनले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिएका छन्। यो लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ।
‘सरकारदेखि निजी क्षेत्रले एउटा जोसमा अब काम गर्नसक्छौँ। त्यसकारण सबैभन्दा पहिला एउटा पाँच वर्षको मार्गचित्र बनाउन जरुरी छ,’ उनले भने, ‘अझ ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित योजना बनाउनुपर्छ। त्यो नीतिलाई पूरा गर्ने कार्यक्रम, ऐन कार्यक्रमदेखि पूर्वाधार बनाउनुपर्छ।’
पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। सरकारले निजी क्षेत्रको भुमिका र कार्यबारे स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उनले बताए।
Shares

प्रतिक्रिया