आकाशमा उडिरहेका चरा हेरेर टोलाउनु वा तिनको चिरबिर आवाजमा हराउनुलाई हामी धेरैले केवल एउटा रमाइलो सौख मान्दै आएका छौँ। तर के चराचुरूंगीको संसारमा हराउने कुराको गहिरो साइनो हाम्रो मस्तिष्कको स्वास्थ्यसँग पनि होला? सुन्दा अलि पत्यार नलाग्न सक्छ, तर हालैका अध्ययनहरूले यसको एउटा रोचक पाटो खोतलेका छन्।
अनुसन्धान भन्छ– चरा चिन्नमा खप्पिस विज्ञहरूको मस्तिष्कमा ध्यान (अटेन्सन) र दृष्टि र (भिजन)सँग सम्बन्धित भागहरूको बनावट नै बदलिँदो रहेछ। अर्थात्, चरालाई सूक्ष्म रूपले नियाल्ने हाम्रो यो बानीले मस्तिष्कको संरचनामै सकारात्मक परिवर्तन ल्याउँछ। अझ महत्वपूर्ण कुरा त के छ भने, यस्ता बौद्धिक र रचनात्मक गतिविधिमा सक्रिय रहँदा अल्जाइमर जस्तो बिर्सने रोग लाग्ने जोखिम समेत ३८ प्रतिशतसम्म कम हुने देखिन्छ। चरा हेर्ने यो सामान्य देखिने बानीले हाम्रो मस्तिष्कलाई कसरी 'रिवायर' गरिरहेको छ त? आउनुहोस्, यसको भित्री कथा बुझौँ।
***
'चरा अवलोकन बानीले अल्जाइमरको जोखिम घटाउँछ'
अमेरिकाको फिस एन्ड वाइल्डलाइभ सर्भिसको आधिकारिक वेबसाइटमा उपलब्ध तथ्याङ्कलाई आधार मान्ने हो भने, अमेरिकामा मात्रै झण्डै १० करोड मानिसहरूले आफूलाई 'बर्डवाचर' अर्थात् चरा अवलोकनकर्ताको रूपमा चिनाउँछन्। यो सङ्ख्या सामान्य मात्र होइन, बरु एक ठूलो सांस्कृतिक र वातावरणीय लहरको सङ्केत हो। विश्वव्यापी रूपमा हेर्दा, कोभिड–१९ को महामारी र त्यसपछिको लकडाउनको समयमा मानिसहरू घरभित्रै थुनिनु पर्ने बाध्यताले प्रकृतिप्रतिको मोह र चरा अवलोकनमा वृद्धि भएको विश्वास गरिन्छ।
तर, चरा अवलोकनको यो अभ्यास केवल एउटा रमाइलो सौख वा समय काट्ने मेसो मात्र हो त? कोइलीको मधुर स्वर सुनेर त्यसलाई चिन्न सक्ने सीप सिक्नु वा आकाशमा उडिरहेका गरूडहरू बीचको अत्यन्तै सूक्ष्म भिन्नता छुट्याउन सक्ने क्षमता विकास गर्नु भन्दा माथिउठेर केही सोच्न सकिन्छ?
के चरा अवलोकनले हाम्रो मस्तिष्कलाई नै लाभदायक ढङ्गले पुनर्गठित वा पुनर्निर्माण (रिवाइरिंग) गर्छ?
हालै मात्र जर्नल अफ न्युरोसाइन्समा प्रकाशित एक अनुसन्धानले यो लोकप्रिय सौखले वास्तवमै हाम्रो मस्तिष्कको तन्तु र संरचनामा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण पेश गरेको छ।


अनुसन्धान टोलीले सबै सहभागीहरूलाई विशेष प्रकारको ब्रेन इमेजिंग मेसिनभित्र राखेर परीक्षण गर्यो। मस्तिष्कको भौतिक संरचना अध्ययन गर्न 'डिफ्युजन वेटेड एमआरआई' र चराहरू चिन्दै गर्दा मस्तिष्कको कुन भाग कति सक्रिय हुन्छ भन्ने हेर्न 'फंग्सनल एमआरआई'को प्रयोग गरिएको थियो। परिणामहरू निकै रोचक आए। सामान्य सिकारुहरूको तुलनामा, विज्ञ चरा अवलोकनकर्ताहरूको मस्तिष्कका ती क्षेत्रहरूमा संरचना अझ बढी सघन (कम्प्याक्ट) देखियो, जुन भागहरू ध्यान केन्द्रित गर्न (अटेन्सन) र दृश्य धारणा (भजुवल प्रसेप्सन) सँग प्रत्यक्ष सम्बन्धित हुन्छन्।
अध्ययनले के देखायो भने मस्तिष्कको संरचना जति सघन भयो, चरा चिन्न सक्ने व्यक्तिको क्षमता पनि उति नै उच्च पाइयो। एउटा अर्को चाखलाग्दो कुरा त के छ भने, जब विज्ञहरूले आफूलाई कम परिचित लागेका चराहरू चिन्न खोज्थे, तब पनि मस्तिष्कका तिनै विशिष्ट क्षेत्रहरू 'इमेजिङ' मा चम्किला देखिएका थिए।

यद्यपि यो एउटा सानो र 'नन इन्टरभेन्सनल' अध्ययन थियो तर यसले एउटा ठूलो सम्भावना तर्फ सङ्केत गर्छ: चरा अवलोकन गर्ने कार्यमा यति धेरै डुब्नु कि त्यसमा विशेषज्ञता नै हासिल होस्, यसले वास्तवमै मस्तिष्कलाई पुनर्गठित र पुनर्संरचित गर्न सक्छ।यो खोज सन् २०२५ को अक्टोबरमा नेचर कम्युनिकेसनमा प्रकाशित अर्को एउटा महत्वपूर्ण अध्ययन— 'क्रिएटिभ एक्सपिरियन्स एन्ड ब्रेन क्लक'सँग पनि मेल खान्छ। उक्त अध्ययनका अनुसन्धानकर्ताहरूले के प्रमाणित गरेका थिए भने रचनात्मक अनुभवहरूमा बढी संलग्न हुने मानिसहरूको मस्तिष्कको उमेर तुलनात्मक रूपमा कम वा 'जवान' देखिन्छ। र यो सिधै उनीहरूको रचनात्मक विशेषज्ञताको स्तरसँग जोडिएको हुन्छ।
सामान्य अर्थमा भन्नुपर्दा, 'कग्नेटिभ' रूपमा समृद्ध गतिविधिहरूमा सहभागी हुनु, जसलाई हामी 'आजीवन सिकाइ' भन्छौँ, त्यसले डिमेन्सियाजस्ता मानसिक समस्याहरूको सुरुवातलाई ढिलो बनाउन मद्दत गर्छ।
हालै मात्र न्युरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले देखाए अनुसार, यस्ता बौद्धिक गतिविधिमा सक्रिय रहने व्यक्तिहरूमा अल्जाइमर रोग लाग्ने जोखिम ३८ प्रतिशतले कम हुन्छ। साथै, यदि उनीहरूमा रोग निदान भइहाल्यो भने पनि सामान्य मानिसको तुलनामा औसत ५ वर्ष ढिलो मात्र त्यसको असर देखिने गर्छ।
***
'क्रोनिक स्ट्रेस' घट्छ

अब फेरि चरा अवलोकनको कुरामा फर्कौं। चरा अवलोकन केवल चरा चिन्नु मात्र होइन, यो त मस्तिष्कको सुस्वास्थ्यका लागि एउटा बलियो आधार पनि हो। जब हामी चरा खोज्दै प्रकृतिको काखमा पुग्छौँ, एकातिर हाम्रो शारीरिक सक्रियता बढ्छ भने अर्कोतिर डिजिटल उपकरणको कोलाहलबाट मुक्ति मिल्छ। अझ समूहमा आबद्ध भएर चरा हेर्न निस्कँदा यसले सामाजिक सम्बन्धलाई कसिलो बनाउँछ, जसलाई मस्तिष्कको स्वास्थ्यका लागि 'वरदान' नै मानिन्छ। यसले हाम्रो 'क्रोनिक स्ट्रेस' घटाएर मस्तिष्कको स्वस्थ बनावट जोगाउन मद्दत गर्छ।
हुन त चराको खोजीमा हिँड्नुले सन्तुलित आहार, निद्रा वा व्यायामको विकल्प त दिँदैन, तर यसले हाम्रो दिमागलाई अझ सबल र तीक्ष्ण बनाउन भित्रैदेखि 'रिवायरिंग गरिरहेको हुन्छ। चराहरूको संसारमा हराउनुको अर्को सुन्दर पाटो यो पनि हो।
('ब्रेन वास' पुस्तकका सहलेखक अस्टिन पर्लम्युटरको साइकोलोजी टुडेमा प्रकाशित लेख आधारित सामाग्री)
Shares

प्रतिक्रिया