काठमाडौँ उपत्यकामा आज (शनिबार) पनि वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालखबरको जिज्ञासामा मौसम महाशाखाले भनेको छ, ‘आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।’
हिजो पनि साँझपख काठमाडौँ उपत्यकामा गड्याङगुडुङसहित वर्षा भएको थियो।
अहिले भने वर्षा रोकिएको मौसम महाशाखाले जानकारी दिएको छ।
देशभर आज वर्षाको सम्भावना कस्तो छ भन्ने विषयमा भने मौसम महाशाखाले अहिले बिहान ८ बजे मात्र प्रक्षेपण जारी गर्नेछ।
हिजो काठमाडौँ उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भएको थियो। अहिले पनि कतिपय स्थानमा पानी पर्ने क्रम जारी छ।
यसैबिच आज बिहान ५;४५ बजेको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.३ डिग्री सेल्सियस देखिएको जानकारी मौसम महाशाखाले दिएको छ।
तर आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।
हिजो (शुक्रबार) सुरुवाती मापनमा ११.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला पनि सोही कायम रह्यो।
Shares

प्रतिक्रिया