समाज


दाउन्नेमा दुई दिनदेखि राजमार्ग अवरुद्ध, कयौँ यात्रु अलपत्र

दाउन्नेमा दुई दिनदेखि राजमार्ग अवरुद्ध, कयौँ यात्रु अलपत्र

नेपालखबर
चैत ७, २०८२ शनिबार २१:३२, काठमाडौँ

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन। 

दुई दिनदेखि लगातारको वर्षाका कारण सडक हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो। शुक्रबार दिउँसोदेखि परेको वर्षाले दाउन्नेको उकालो खण्डमा सवारीसाधन चिप्लिएर गुड्न नसक्दा जाम लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले बताए। 

विशेष गरेर घिउखोला, विश्वकर्मा मन्दिर क्षेत्र र पैसट्ठीमोड आसपासमा बढी समस्या देखिएको एसपी खड्काको भनाइ छ। सडक हिलाम्य बनेपछि गाडी चल्न नसकेको उनले बताए। 

दाउन्ने खण्डमा सवारी साधन फसेर जाम बढ्न थालेपछि पूर्वबाट पश्चिमतर्फ जाने ठूला तथा मालवाहक सवारी साधनलाई कावासोती क्षेत्रमै रोकिएको छ। यसअघि सडकको अवस्थालाई ध्यानमा राख्दै नारायणगढ-बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा रातिको समयमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। 

बुटवल-नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माण भइरहेकाले सामान्य वर्षामै पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। अवरोध हटाएर सवारी सञ्चालन सहज बनाउन मर्मत तथा व्यवस्थापनको काम भइरहेको सडक आयोजनाले जनाएको छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad