अघिल्लो दिनको तुलनामा आज (आइतबार) बिहान काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
आज सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यनूतम तापक्रम शनिबारको भन्दा झन्डै ३ डिग्री सेल्सियस घटेको हो।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियसमा झरेको हो।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा अझ घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।
शनिबार सुरुवाती मापनमा ११.३ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला पनि यही कायम रह्यो।
यसैबिच आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना एकदम कम देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालखबरको जिज्ञासामा मौसम महाशाखाले भन्यो, ‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना निकै कम देखिएको छ। बादल भने आंशिक लाग्ने सम्भावना छ।’
आंशिक बादल लाग्नु भनेको घाम पनि देखिने अवस्था हो।
Shares

प्रतिक्रिया