समाज


राइड सेयरिङका १७५ चालकलाई कारबाही

राइड सेयरिङका १७५ चालकलाई कारबाही

नेपालखबर
चैत ९, २०८२ सोमबार १२:३३, काठमाडौँ

ट्राफिक प्रहरीले काठमाडौँमा सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालकलाई कारबाही गरिएको छ। 

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा राइड सेयरिङ चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ।

पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले विशेष चेकिङ अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। 

‘हामीले उपत्यकाका विभिन्न स्थानमा विशेष चेकिङ अभियान सञ्चालन गरेका छौँ। अभियानमा राइड सेयरिङका १७५ जना चालक कारबाहीमा परेका हुन्,’ सुवेदीले भने। 

उनका अनुसार कारबाहीमा परेका अधिकांश चालकले ‘अनलाइन प्लेटफर्म’को अनुमतिविना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए। त्यस्तै, जथाभावी स्थानमा यात्रु चढाउने र झार्ने (पिक एन्ड ड्रप) कार्य, सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने गतिविधि पनि भेटिएको प्रवक्ता सुवेदीले बताए। 

ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ सेवा सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु, सवारीसाधनको नियमित मर्मतसम्भार गर्नु, चालकले आवश्यक कागजात बोकेको हुनु तथा तोकिएका नियमको पालना गर्नु अनिवार्य हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए। ‘धेरै चालकहरूले यी आधारभूत मापदण्डको बेवास्ता गर्ने गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो,’ अधिकारीले भने। 

विशेषगरी व्यस्त चोक, अस्पताल क्षेत्र, विद्यालय आसपास तथा मुख्य सडकमा जथाभावी रोकिएर यात्रु ओसारपसार गर्दा यातायात अवरोध हुनाका साथै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यसप्रति कडाइ गरिएको उनको भनाइ छ। आगामी दिनमा पनि यस्ता अनुगमन अभियानलाई अझ प्रभावकारी बनाइने र नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारबाही गरिने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad