समाज


हेलिकप्टर, ट्रेकिङ कम्पनी र अस्पतालको मिलेमतोमा यसरी हुन्छ पर्यटकको ‘फेक रेस्क्यु’

अदालतमा प्रतिवादीहरूको बयान सुरु
हेलिकप्टर, ट्रेकिङ कम्पनी र अस्पतालको मिलेमतोमा यसरी हुन्छ पर्यटकको ‘फेक रेस्क्यु’

उजिर कार्की
चैत ९, २०८२ सोमबार २२:२, काठमाडौँ

‘फेक रेस्क्यु’ प्रकरणमा पक्राउ परेका ८ प्रतिवादीहरूको जिल्ला अदालत काठमाडौँमा बयान सुरु भएको छ। आइतबार मुद्दा दर्ता भएपछि न्यायाधीश जगतबहादुर पौडेलको इजलासमा सोमबारदेखि बयान सुरु भएको हो। 

बयान सकिएपछि उनीहरूलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दाको किनारा लगाउने भन्ने आदेश हुनेछ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि संगठित रुपमा राष्ट्रहित प्रतिकूल काम गरेको कसुरमा ३२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। ८ जनाबाहेक अरु प्रतिवादीहरू फरार छन्। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुरमा सजाय माग गरिएको छ। यो कसुर गरेको पुष्टि भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। यस्तै संगठित अपराधमा थप सजाय गर्न माग गरिएको छ। 

विशेषगरी उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्धार गरेको देखाई बिमा रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको उजुरी परेको थियो। 

प्रहरी महानिरीक्षकको सचिवालयमा परेको उक्त उजुरी थप अनुसन्धानका लागि २०८२ पुस १ गते सीआईबीमा पठाइएको थियो। सीआईबीले लामो अनुसन्धानपछि फेक रेस्क्यु देखाएर करोडौँ रुपैयाँ बिमाबाट ठगी गरेको निष्कर्ष निकालेको छ। 

सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएको एक सातापछि सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। रेस्क्युका नाममा उनीहरूले २ अर्ब ८५ करोड ६२ लाख ५० हजार १६५ रुपैयाँ बिमा दाबी गरेको सीआईबीको निष्कर्ष छ। 

यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पर्ने अनुसन्धानको निष्कर्ष छ। अनुसन्धान प्रतिवेदनमा उल्लेख भए अनुसार नेपाल आउने पर्यटकको बिमा रकममा वृद्धि गर्दै लगेको, नेपाल महँगो र जोखिमपूर्ण गन्तव्य बनेको र बिमा सुविधा नै बन्द हुने जोखिम रहेको देखिएको छ। केही संस्थाहरूले दोषीलाई कडा कारबाही नभए नेपालका लागि बिमा पोलिसी जारी गर्न पूर्ण रुपमा रोक्ने चेतावनी दिएका छन्। 

यस्तै पर्यटकहरूमा अविश्वास बढ्दै जाने, नेपाल जान नहुने गन्तव्यमा सूचीकृत हुने चेतावनी पनि उनीहरूले दिएका थिए। एउटै चार्टर उडानमा धेरै पर्यटकहरूलाई ल्याउने गरेको भए पनि बिमा कम्पनीमा छुट्टाछुट्टै उडान गरेको भनी पूर्ण बिमा शुल्क दाबी गर्ने गरेको र ४ हजार अमेरिकी डलर पर्ने उडानमा १२ हजार अमेरिकी डलरसम्म बिल बनाएर पेस गरेको पाइएको छ।
 
अस्पतालहरूले पनि पर्यटकको स्वास्थ्य अवस्थाबारे गलत रिपोर्ट बनाएर दिने गरेको पाइएको सीआईबीको दाबी छ। बिमा रकम हात पार्न आवश्यक नै नभएका महँगा परीक्षणहरू पनि गर्ने र अनावश्यक रुपमा आईसीयूमा भर्ना गरेको पनि पाइएको छ। यसरी ट्रेकिङ कम्पनीले हेलिकप्टर कम्पनीबाट र हेलिकप्टर कम्पनीले अस्पतालबाट कमिसन लिने गरेको र यो सबैको भार बिमा कम्पनीमाथि थोपर्ने गरेको खुलेको छ। 

प्रहरीको अनुसन्धानमा स्वाकन इन्टरनेसनल हस्पिटलमा सन् २०२२ देखि २०२५ नोभेम्बरसम्ममा ११ जना नेपाली र ४ हजार ७८२ विदेशीको उपचार गरेको विवरण छ। यहाँ अभिलेखहरू किर्ते गरेर फर्जी उद्धारका पर्यटकलाई ल्याएको विवरण फेला परेको छ। विदेशी पर्यटकको उपचार गरे वापत यो अस्पतालले एक अर्ब तीन करोड ९८ लाख ३३ हजार २६२ रुपैयाँ ३३ पैसा प्राप्त गरेको पाइएको छ। यसरी आएको रकम यी प्रतिवादीहरूले बाँडेको फेला परेको छ। 

श्रीद्धि इन्टरनेसनल हस्पिटलमा फेक रेस्क्यु गरी ७१ जनाको उपचार गरेको भनी बिल पेस गरेको पुष्टि भएको छ। यो अस्पतालको खातामा पनि करोडौँ रकम प्राप्त भएको छ। सीआईबीले यसरी प्राप्त गरेको रकम कसरी भागबण्डा गरियो भन्ने पनि खुलाएको छ। 

प्रतिवादी गीर्वाणराज तिमिल्सेनाले बयानका क्रममा अस्पतालले बिमा भुक्तानी पाएको रकमको २० देखि २५ प्रतिशत ट्रेकिङ कम्पनीलाई कमिसन दिने गरेको खुलाएका छन्। उद्धार कम्पनीलाई पनि २० देखि २५ प्रतिशत नै दिने गरेको र बाँकी रकम अस्पतालले लिने गरेको उनले प्रहरी समक्ष बयान दिएका छन्। 

उनले आफ्नो कम्पनीबाट नेपाल चार्टर्ड सर्भिस प्रालिलाई करिब ९१ लाख, हेली अन कललाई १५ लाख र ट्रेकिङ कम्पनीका सञ्चालकलाई १५ लाख रुपैयाँ कमिसन दिएको बताएका छन्। यसले पनि फेक रेस्क्यु पुष्टि गरेको सीआईबीको दाबी छ। सीआईबीले आर्थिक कारोबारसँगै अन्य प्रमाणहरू पनि अदालतमा पेस गरेको छ। 

यी हुन् ३२ प्रतिवादी  
गोरखा भिमसेन गाउँपालिका ६ अश्राङ घर भई हाल ललितपुरको धापाखेलमा बस्ने एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्सका अध्यक्ष ४२ वर्षीय मुक्ति पाण्डे, सोही कम्पनीका शेयरधनी ललितपुरको गोदावरी नगरपालिका ९ घर भई काठमाडौँको नागार्जुन बस्ने ४७ वर्षीय सुवास केसी, चितवनको राप्ति नगरपालिका ५ का माउन्टेन रेस्क्यु सर्भिसका म्यानेजर ३१ वर्षीय विवेक पाण्डे, सोही कम्पनीका अध्यक्ष चितवनको रत्ननगरका ४६ वर्षीय जयराम रिमाल, नेपाल चार्टर सर्भिसका अध्यक्ष धादिङका ३९ वर्षीय रविन्द्र अधिकारी र पर्वतको मोदी गाउँपालिका २ घर भई श्रीद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक ४४ वर्षीय डा गीर्वाणराज तिमिल्सिनालाई प्रतिवादी बनाइएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका २ घर भई रोयल होलिडेज एड्भेन्चरका सञ्चालक २८ वर्षीय सन्दिप तिवारी, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका १ घर भई पानोरमा हिमालयन ट्रेकिङ एन्ड एक्सपेडिसनका सेयरधनी ४८ वर्षीय पासाङ शेर्पालाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूलाई सीआईबीले पक्राउ गरेरै अनुसन्धान अगाडि बढाएको थियो। 

तर यी ८ जनाबाहेक सबै फरार छन्। फरार रहनेका नेपाल चार्टर सर्भिसका मेनेजर ३९ वर्षका विवेकराज थपलिया, स्वाकन इन्टरनेसनल हस्पिटलका सञ्चालक ६० वर्षीया डा मिनल्मा पाण्डे, सोही हस्पिटलका अर्का सञ्चालक श्यामसुन्दर कँडेल, ५१ वर्षका श्रीराम केसी, हिमालयन मास्टर एड्भेन्चरका सञ्चालक सन्दिप ढुंगाना, म्याजिक हिमालयन ट्रेक्स एन्ड एक्सपेन्डिसनका म्यानेजिङ डाइरेक्टर शान्तकुमार बानियाँ, नेपाल ट्रेकका म्यानेजिङ डाइरेक्टर विनोद सापकोटा, एरा इन्टरनेसनल हस्पिटलका सञ्चालक जीवन पाण्डे, भानु ढकाल, फुर्वा छिरिङ शेर्पा, ममिता भट्ट, चुङ्ला शेर्पा, हिमालयन ट्रेकिङका गाइड तेन्जिङ शेर्पा, सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा अल्टिच्युड एयरका स्टेसन म्यानेजर पासाङ दावा तामाङलाई पनि फरार सूचीमा राखेर सीआईबीले मुद्दा दायर गरेको छ। 

यस्तै फरार रहेका स्पिरिचुअल एक्सकर्सनका सञ्चालक बद्री लम्साल, सोही कम्पनीका सञ्चालक कबिन्द्र लम्साल, नेपाल हाइकिङ एड्भेन्चरका सञ्चालक विष्णुप्रसाद लम्साल, माउन्टेन हेलिकप्टरमा सेल्स एन्ड मार्केटिङ डिपार्टमेन्टका असिस्टेन्ट म्यानेजर सन्दीप भण्डारी, मनाङ एयरमा जुनियर मार्केटिङ स्टाफ प्रकाशबाबु दाहाल, अल्टिच्युड एयरका मार्केटिङ म्यानेजर सुदीप भन्ने चन्द्रप्रसाद प्याकुरेल, नेपाल रेस्क्यु एन्ड असिस्टेन्सका सञ्चालक कुमार भण्डारी, नेपाल चार्टर सर्भिसका पूर्व सेयरधनी तथा फ्लाइङ याक काठमाडौँ ठमेलका सञ्चालक सन्तोष अधिकारी भन्ने खोमराज अधिकारी, वल्र्डमेड असिस्टेन्स नेपालका सञ्चालक रामकुमार फुयाल र एरा इन्टरनेसनल अस्पतालका सञ्चालक गणेश सिलवाललाई पनि प्रतिवादी बनाइएको छ।

उनीहरूलाई पक्राउ गर्न सीआईबीले अदालतसँग अनुमति पनि माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad