उच्च शिक्षा अध्ययनका लागि रूस गएका दिनेश नायक पछिल्लो दुई वर्षदेखि सम्पर्कमा थिएनन्। उनको फोनको प्रतिक्षा गरिरहेका परिवारजन एकाएक मृत्यु खबर आएपछि शोकमा डुबेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-९, ब्रह्मदेवका २३ वर्षीय दिनेश नायक उच्च शिक्षा अध्ययनका लागि रूस जान २०८० असार ८ मा घरबाट बिदा भएका थिए। एक सातापछि विद्यार्थी भिसामा काठमाडौँबाट रूसका लागि उडेका थिए।
दिनेशसँगै उनका मामाका छोरा ब्रह्मदेवकै रोहण पनि रूस गएका थिए। रूस पुगेपछि कलेज भर्ना भए। पढ्न पनि थाले।
कलेजको एक महिना बिदा भएका बेला काम पनि गरे। त्यतिबेला ५० हजार रुपैयाँ घर खर्च पठाएका थिए।
दिनेश परिवारसँग निरन्तर सम्पर्कमै थिए। २०८० भदौ १४ गतेतिर परिवारले अपत्यारिलो खबर पाए। पढ्न गएका दिनेशले रूसी सेनामा भर्ती हुन लागेको परिवारलाई सुनाए।

रूस-युक्रेन युद्ध चलिरहेकाले खतरा हुने भन्दै आमाबुवाले सेनामा नजान सम्झाइबुझाइ गरे। तर आर्थिक प्रलोभनमा परेका उनी रोकिएनन्।
पैसाको प्रलोभनमा परेका दिनेश रूसी सेनामा भर्ती भए। लगत्तै युद्धमा होमिए। तर, सेनामा भर्ती भएपछि पाउने भनेको पूरै पैसा नपाएको बुवा कर्णसिंह सुनाउँछन्। त्यतिवेला महिलाको ३ लाख रुपैयाँ पाइने आश्वासन दिइएको थियो।
अध्ययनका लागि रूस जान १२ लाख रुपैयाँ खर्च भएको उनका बुवा कर्णसिंह बताउँछन्। दिनेशले कात्तिक महिनातिर तलब बुझेपछि ७३ हजार रुपैयाँ बुवाको खातामा पठाए।
रुसी सेनामा भर्ती भइसकेपछि दुई-तीन महिनासम्म परिवारसँग कुराकानी भइरहन्थ्यो। लडाइँका लागि खटिँदा ५-१० दिनसम्म कुरा नहुने गरेको कर्णसिंह सुनाउँछन्।
ड्युटीबाट फर्किएपछि उनी आमाबुवा र भाउजू भागरथीसँग कुराकानी गरिहाल्थे। दिनेश दुई पटक युद्धमा गएका थिए।

दिनेशसँगै रूस गएका दाइ रोहण पनि रूसी सेनामा भर्ती भएका थिए। उनी भने बिदाको मौका छोपेर ६-७ महिनामै भागेर सकुशल घर फर्किए।
दिनेशले पछिल्लो पटक २०८० मंसिर १० मा आमा र भाउजूसँग कुराकानी गरेका थिए। युद्धमा जान लागेको र १५ दिनपछि फर्किएर आउने उनले परिवारलाई सुनाएका थिए।
त्यसपछि एक महिनाका लागि बिदामा घर आउने कुरा पनि दिनेशले भाउजू र आमालाई बताएका थिए। तर त्यसपछि दिनेशसँग परिवारको सम्पर्क हुन सकेन। परिवारजन उनी सम्पर्कमा आउने आशमै थिए।
दुई वर्षदेखि सम्पर्कविहीन रहेका दिनेशको मृत्यु भएको परिवारजनले केही दिनअघि मात्रै खबर पाएको छ। फागुन २९ मा रूसस्थित नेपाली राजदूतावासले कमलादेवीको डीएनएको नमुना मिलेको जानकारीसहित दिनेशको मृत्यु भएको पत्र कन्सुलर सेवा विभागमा पठाएको हो।

त्यसपछि मात्रै नायक परिवारले छोराको मृत्युको खबर पाएको छ। छोराको मृत्यु कहिले भयो भन्नेबारे भने नायक परिवारले केही जानकारी पाएको छैन। ‘छोरा सकुशलै फर्किने आशमा थियौँ। दुई वर्षपछि यस्तो खबर सुन्नु परेको छ,’ बुवा कर्णसिंह भन्छन्।
आमा कमलादेवीले काठमाडौँ गएर फागुन १५ मा डीएनएको नमूना दिएकी थिइन्।
दिनेशको मृत्युको खबरले परिवार शोकमा डुबेको छ। दाहसंस्कार प्रक्रिया र क्षतिपूर्तिका लागि रूस सरकारले बोलाएको छ। बुवा कर्णसिंह त्यसको कागजपत्र बनाउन सरकारी कार्यालय धाइरहेका छन्।
‘ऊ जाँदाकै १०÷१२ लाख ऋण छ। फेरि रूस जानु पर्ने हो। पैसा छैन,’ उनी भन्छन्, ‘ऋणदान गरेर त्यसको जोहो गर्दै छौँ। सरकारले शव स्वदेश ल्याइदिए दाहसंस्कार गर्न सकिन्थ्यो।’
Shares

प्रतिक्रिया