समाज


अध्यागमनमा सेटिङ् गरी दक्षिण कोरिया पठाइदिन्छु भन्ने व्यक्ति पक्राउ

अध्यागमनमा सेटिङ् गरी दक्षिण कोरिया पठाइदिन्छु भन्ने व्यक्ति पक्राउ

नेपालखबर
चैत १२, २०८२ बिहिबार १६:४०, काठमाडौँ

सिजनल भिसामा दक्षिण कोरिया पठाईदिन्छु भनी यात्रुहरूसँग जनही एक लाख दश हजार माग गर्ने एक व्यक्तिलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

केएन्डसी इन्टरनेसनल प्रालि ४७ वर्षीय जगत गुरुङ एक लाख रुपैयाँ लिँदै गर्दा लाजिम्पाटस्थित आफ्नै कार्यालयबाट पक्राउ परेका हुन्। उक्त प्रालिको प्रबन्ध निर्देशक शान्ति घले हुन्।

‘त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको सेटिङ मिलाएर मात्र त्यस्तो श्रम भिसामा जान सकिन्छ नत्र अध्यागमनले फर्काइदिन्छ। तपाइँको टिकट पनि खेर जान्छ’ भनेर दुई जना यात्रुलाई उनले भनेको अध्यागमनको दाबी छ। 

यसअघि अरुलाई पनि यसैगरी पठाइसकेको भन्दै पीडितहरुलाई बताएका थिए। 

अध्यागमनको सेटिङमा मात्र यस्तो भिसामा जान मिल्छ भनेपछि यात्रुहरु  अध्यागमन विभागमा उजूरी गर्न गएका थिए। 

त्यति धेरै पैसा आफूसँग नभएको भनेपछि १० हजार कम भएपनि काम गरिदिने जानकारी गराएको पीडितले बताएको विभागका निर्देशक प्रवक्ता टिकाराम ढकालले बताए। 

अध्यागमन विभागमा उजूरी परेपछि अध्यागमन विभागले उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोसँग सहयोग मागेको थियो। 

६ महिनादेखि ८ महिनाका लागि दक्षिण कोरियामा कामदार पठाउने गरी विभिन्न स्थानीय तहहरुले सम्झौता गरेका थिए। सामान्यतया एक वर्ष भन्दा कम अवधीको भिसामा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गर्दैन। 

अध्यागमनले यस्तो भिसामा सहज प्रस्थान अनुमति दिँदै आएको छ। पैसा अशुल गर्नका लागि सोलुखुम्बु घर भएका पीडितहरूलाई गुरुङले पटक पटक पछ्याएको पीडितले बताएका छन्। 

उनलाई थप अनुसन्धानको लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा बुझाएको छ। 

भिजिट भिसामा विचौलियाले ठगी गर्न थालेको गुनासोपछि  गृह मन्त्रालयले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड परिमार्जन गरेको थियो।

सम्बन्धित मुलुकको भिसा, ६ महिना वैध अवधी भएको राहदानी र गन्तव्य मुलुकसम्मको हवाई टिकट पेश गरेमा पर्यटक भिसामा प्रस्थान गर्न सकिने व्यवस्था गरिएको छ।

भिजिट भिसामा जाँदा स्वघोषणा भने गर्नुपर्छ। साविकमा भिजिट भिसामा अन्य मुलुक प्रस्थान गर्न यसका अतिरिक्त दुई तर्फी हवाई टिकट, होटल बुकिङ र ५०० अमेरिकी डलर बराबरको विदेशी परिवर्त्य मुद्रा आवश्यक पर्ने व्यवस्था थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad