देशका धेरै स्थानसँगै आज (शुक्रबार) काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
'बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम साधारणतया बदली छ', उनले नेपालखबरसँग भनिन्, 'मध्यमसम्म वर्षा हुने सम्भावना छ।'
यसैबिच आज बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस देखिएको छ।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (बिहीबार) सुरुवाती मापनमा १३ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला थोरै घटेर १२.८ कायम भएको थियो। हिजो यहाँको अधिकतम तापक्रम भने २५ डिग्री सेल्सियस थियो।
Shares

प्रतिक्रिया