सडक विभागले काटेको रुख ढलेर पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
आज विज्ञप्ति प्रकाशित गरी महासंघले घटनाबारे दुःख प्रकट गरेको छ।
यही चैत्र ११ गते सर्लाहीबाट महोत्तरीको बर्दिवासतर्फ जाने क्रममा उनीहरु सवार मोटरसाइकलमाथि रुख ढलेर च्यापिदा पौडेलको कुहिनामा गहिरो चोट लागेको र दाहिने खुट्टाको हड्डी भाचिएको महासंघ सर्लाही शाखाले जनाएको छ।
घटनाको प्रकृति हेर्दा रुख काट्दा सडक विभाग, विभागका कर्मचारी र कामदारले सडकमा गुड्ने सवारी साधनलाई ध्यान नदिइ लापरवाही गर्दा यस्तो घटना घटेको शाखाको भनाइ छ। पूर्व—पश्चिम राजमार्ग विस्तारका क्रममा रूख काट्दा सडक सुरक्षामा ध्यान नदिएको देखिन्छ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन, घाइतेको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन तथा क्षतिपूर्ति दिलाउन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।
पौडेललाई उपचारका लागि काठमाडौँ ल्याइएको जानकारी दिँदै महासंघका महासचिव रामप्रसाद दाहालले उनको पूर्ण र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
Shares

प्रतिक्रिया