हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा पर्ने मकवानपुरको भीमफेदीमा गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
शनिबार बिहान ११ः२० बजे भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.३ ख ७८७६ नम्बरको हाईस गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीकाअनुसार हाईस गाडी ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेहरुमा उदयपुर त्रियुगा नगरपालिका–११ गाईघाटका करिब ८६ वर्षीय गोरे राई रहेका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। गाडीको ब्रेक फेल भएपछि अत्तालिएका उनी गाडीबाट हाम फाल्दा पछाडिको टायरले कुल्चिएको डीएसपी बोगटीले बताए।
त्यस्तै, सोही स्थानकी ६२ वर्षीया हर्कमाया राईको निधार र दाहिने हातमा मध्यम चोट लागेको छ। उनी पनि गाडीबाट हाम फाल्दा घाइते भएकी हुन्।
यस्तै, त्रियुगा नगरपालिका–१० का अन्दाजी ३५÷४० वर्षका शम्भु कटुवालको टाउकोमा मध्यम चोट लागेको छ।
घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको डीएसपी बोगटीको भनाइ छ। अन्य यात्रुहरू भने सामान्य घाइते भई आफैं उपचारका लागि गएका छन्।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक प्रेम तामाङको कमाण्डमा ६ जनाको टोली खटिएर उद्धार कार्य गरेको थियो। गाडीमा चालकसहित १० जना सवार रहेकामा ३ जना घाइते भएका हुन्।
दुर्घटनामा हाईस गाडीमा क्षति पुगेको छ भने सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक भने सम्पर्कविहीन भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Shares

प्रतिक्रिया