नवगठित सरकारले बर्दिवास मेडिकल पूर्वाधार विकास आयोजना खारेज गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को गृह जिल्ला महोत्तरीमा खैलाबैला भएको छ।
बालेनको पुर्ख्याैली घर महोत्तरीको एकडारामा छ। हाल महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।
०७३ सालमा गिरिराजमणि पोखरेल (हाल नेकपाका नेता) शिक्षामन्त्री भएको बेला बर्दिवासमा एक हजार बेड क्षमताको सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय सरकारले गरेको थियो।
त्यतिबेला सरकारले बर्दिबाससँगै बुटवल र सुर्खेतमा पनि एक हजार बेड क्षमताकै सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको थियो।
०६४ सालको निर्वाचनमा पहिलोपटक महोत्तरी १ बाट सांसद विजयी भएपछि पोखरेलले बर्दिवासमा मेडिकल कलेज खोज्ने पहल अघि बढाएका थिए।
त्यसपछिका दुईवटा चुनावमा पनि महोत्तरी १ बाटै विजयी बनेका पोखरेलले नै विभिन्न समयमा शिक्षा र स्वास्थ्यमन्त्री भएको बेला बर्दिवासमा सरकारी मेडिकल कलेज स्थापनाको लागि पहल अघि बढाउँदै आएका थिए।
तर ०७९ र हालै सम्पन्न निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका पोखरेल दुवै निर्वाचनमा पराजित बनेका थिए।
फागुन २१ गते भएको निर्वाचनमा महोत्तरी १ बाट रास्वपाका प्रमोदकुमार महतो विजयी भएका छन्।
जग्गा प्राप्तिसँगै अन्य पूर्वाधारका कामसमेत अघि बढिसकेको अवस्थामा सरकारले मेडिकल पूर्वाधार विकास आयोजना खारेज गर्ने निर्णय गरेको हाे।
तर बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियामा विभिन्न खाले विवाद पनि हुँदै आएकाे थियो। पछिल्लोसमय भने सर्वाेच्च अदालतको आदेशसँगै पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको थियो।
- वन मासेर बर्दिवास मेडिकल कलेज नखोल्न सर्वोच्चको अन्तरिम आदेश
- बन्ने भयो बर्दीबासमा सरकारी मेडिकल कलेज, मन्त्रिपरिषद्को निर्णयले स्थानीय उत्साहित
- बर्दीबास मेडिकल कलेजको लागि अझै खबरदारी आवश्यक छ : पोखरेल
बर्दिवास मेडिकल पूर्वाधार विकास आयोजना खारेज गर्ने सरकारको निर्णयप्रति महोत्तरीवासीले असन्तुष्टि व्यक्त गरेका छन्।
बर्दिवासका युवा व्यवसायी रोशन गौतमले आयोजना खारेज भएकोप्रति असन्तुष्टि जनाउँदै सो क्षेत्रबाट निर्वाचित सांसद प्रमोदकुमार महतो भूमिकाप्रति प्रश्न गरेका छन्।
‘प्रमोद महतो माननीय (घन्टी) ज्यू, बर्दिवास मेडिकल कलेज खारेज गर्ने भएछ यो सरकारले! तपाईँको भूमिका के रहन्छ अब? रासपाका कार्यकर्ता र नेताहरू जनतालाई कसरि कन्भिस गर्नुहुन्छ गर्नुहोस,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब पनि चुपचाप हो कि?’

त्यसैगरि बर्दिवासकै अर्का युवा गणेश बस्नेतले पनि काम अघि बढिसकेको बर्दिवास मेडिकल खारेज गर्ने सरकारको निर्णय बेठिक भएको बताएका छन्।
‘बर्दिवास मेडिकल कलेज केबल बर्दिवासको मात्र होइन, यो सिङ्गो मधेस प्रदेश र सिन्धुली, रामेछाप र उदयपुरको शान हो। सबैमा चेतना भया,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

बर्दिवास निवासी बिष्णु बम्जनले डीपीआरसमेत समेत पास भैसकेको बर्दिवास मेडिकल कलेज खारेज गर्ने वर्तमान सरकारको निर्णयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डीपीआरसमेत पास भइसकेको बर्दिवास मेडिकल कलेज घन्टी सरकारले कसरि खारेज गर्न सक्यो? हामी बर्दिवासबासीले हिजो सेवा केन्द्रको विषयमा प्रचण्ड सरकारको बेलामा आन्दोलन गरेरै स्थापन गरिएको हो। मेडिकल कलेजको बारेमा गरिएको त्रुटीपूर्ण निर्णय घन्टी सरकारले यथाशिघ्र सच्याओस्। अन्यथा हामी सरकारविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौँ।’

गएको कार्तिक २७ गते शिक्षा मन्त्रालयले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माणको डीपीआरसमेत स्वीकृत गरेको थियो।

Shares

प्रतिक्रिया