नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्माला शर्माले व्यावसायिक र जवाफदेही पत्रकारितामार्फत सुदृढ लोकतन्त्र र विधिको शासन स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताएकी छन्।
पत्रकार महासंघको ७१औं स्थापना दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै शर्माले महासंघले मानव अधिकारको रक्षा, सही सूचना पाउने नागरिकको अधिकारको संरक्षण र सार्वजनिक सरोकारका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गरेकी छन्।
‘पछिल्लो समयमा सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो छ। जसका कारण पाठकमा सञ्चारमाध्यमका सामग्री र सामाजिक सञ्जालमार्फत व्यक्तिले व्यक्त गरेका विचारहरू छुट्याउन समस्या परिरहेको अवस्था छ,’ शर्माले भनेकी छन्, ‘यस्तो चुनौतीकाबीच जिम्मेवार पत्रकारिता गर्दै महासंघको मर्यादा उँचो बनाउने र इतिहासको गौरवलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी हाम्रा सामु छ। लोकतन्त्रसँग पत्रकार र पत्रकारिता अभिन्न रुपले जोडिएको हुन्छ। तसर्थ हामीले कतिपय अवस्थामा व्यावसायिक जिम्मेवारीभन्दा बाहिर सार्वजनिक सरोकारका विषयमा पनि अभिमत जाहेर गर्नुपर्ने अवस्था हुन्छ।’
भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि सरकार बनेको भन्दै शर्माले यसबाट राजनीतिक अस्थिरताको अन्त्य हुने विश्वास महासंघले लिएको पनि बताएकी छन्।
‘लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन र आवश्यक कानुन महासंघसहित सरोकारवाला पक्षसँग छलफल गरी ल्याउन सरकारसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जेन्जी आन्दोलनको बेला मारमा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूको महासंघले संकलन गरेको विवरणअनुसार क्षतिपूति दिलाइ मनोबल बढाउन जरुरी छ।’
पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको लागि आमसञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायसँगको सम्बन्ध थप बलियो बनाउन महासंघ लागि परेको पनि उनले बताएकी छन्।
‘संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अंग वा तहबाट जुनसुकै नाममा पनि संकुचन गर्ने वा नियन्त्रण गर्ने प्रयास भए त्यसको प्रतिवाद गर्नु हाम्रो कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि पछिल्लो समय प्रेस स्वतन्त्रता हनन्का घटनाहरू बढ्दो क्रममा रहेकोमा महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको भौतिक सुरक्षाका लागि सधैं प्रतिबद्ध छ। महासंघले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहलकदमी अगाडि बढाइरहको छ।’
पत्रकार महासंघ स्थानपना दिवश आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
महासंघ स्थापना दिवसको अवसरमा पत्रकार महासंघले आज काठमाडौँसहित देशका विभिन्न जिल्लामा प्रभातफेरिसहितका कार्यक्रम गरेका छन्।
Shares

प्रतिक्रिया