हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला (शनिबार बिहान) बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा आंशिक बादल देखिएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो हिमाली भेगसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल देखिनेछ।
यस क्रममा दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ भने सुदूरपश्चिम प्रदेशका तराईसहित देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। तराईका केही स्थानमा हुरीको समेत सम्भावना छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा भने पानी पर्ने सम्भावना एकदमै कम देखिएको मौसम महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दइन्।
‘काठमाडौँ उपत्यकाको आकाशमा आज आंशिक बादलचाहिँ लाग्छ तर वर्षा हुने सम्भावना निकै कम देखिएको छ’, उनले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘भइहाल्यो भने पनि काठमाडौँ उपत्यकाको उत्तरी भेगका एक-दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।’
आजलाई काठमाडौँ उपत्यकामा हुरीको सम्भावना पनि नदेखिएको मौसमविद् महर्जनले बताइन्।
देशभरको सन्दर्भमा राति पहाडी र हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल देखिनेछ।
यस क्रममा राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागसहित देशका बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात तथा बाँकी पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीसमेत आउने सम्भावना छ।
Shares

प्रतिक्रिया