समाज


डिजिटल सट्टेबाजीमाथि सरकारी ‘स्ट्राइक’: ७ हजार एप र वेबसाइट नेपालमा ब्लक

डिजिटल सट्टेबाजीमाथि सरकारी ‘स्ट्राइक’: ७ हजार एप र वेबसाइट नेपालमा ब्लक

नेपालखबर
चैत २२, २०८२ आइतबार १२:३२, काठमाडौँ

नेपालमा अवैध रूपमा मौलाउँदै गएको अनलाइन सट्टेबाजी (बेटिङ) विरुद्ध सरकारले ठूलो डिजिटल कारबाही सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूसँगको प्राविधिक समन्वयमा अहिलेसम्म ७ हजारभन्दा बढी सट्टेबाजीसम्बन्धी एप्लिकेसन र वेबसाइट (युआरएल) हरू पूर्ण रूपमा बन्द गराएको हो।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार’ कार्यसूचीको बुँदा नम्बर ४२ लाई कार्यान्वयन गर्ने क्रममा प्राधिकरणले यो कठोर कदम चालेको हो। उक्त निर्णयमा सट्टेबाजीसँग सम्बन्धित सबै डिजिटल प्लेटफर्महरू २४ घण्टाभित्र पहिचान गरी बन्द गर्ने उल्लेख थियो। सोही म्यान्डेटअनुसार प्राधिकरणले आफ्ना प्राविधिक संयन्त्र परिचालन गरी शङ्कास्पद युआरएल र एपहरूको पहिचान र ब्लकिङ प्रक्रियालाई तीव्र बनाएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार पछिल्लो एक सातामा मात्रै इमेल, टेलिफोन र म्यासेजमार्फत अनलाइन सट्टेबाजीबारे ५० भन्दा बढी गुनासाहरू प्राप्त भएका थिए। ती सबै गुनासाहरूलाई सम्बोधन गर्दै प्राधिकरणले अवैध सट्टेबाजीका सञ्जाललाई डिजिटल पर्खाल लगाउने कार्य अघि बढाएको उनले जानकारी दिए।

नेपालको कानुनले अनलाइन सट्टेबाजीलाई कडा अपराधको रूपमा परिभाषित गरेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन। यदि यो कानुन उल्लङ्घन गरेको पाइएमा सट्टेबाजीमा प्रयोग भएको सम्पूर्ण रकम जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। यसका साथै विज्ञापन (नियमन गर्ने) ऐन २०६६ ले पनि जुवा वा सट्टेबाजीलाई प्रोत्साहन गर्ने खालका विज्ञापन गर्न पूर्णतः निषेध गरेको छ।

सरकारले सट्टेबाजी एप र वेबसाइटहरू प्रयोग नगर्न पुनः चेतावनी दिँदै अनधिकृत रूपमा सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही हुने स्पष्ट पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad