सरकारले सरकारी र निजी अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने निर्णय गरेसँगै अस्पतालहरू धमाधम निःशुल्क सेवाको विवरण बुझाउन थालेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सकरारले ल्याएको एक सय वटा शासकीय सुधारका योजनामा अस्पतालले विपन्न बिरामीलाई १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउनुपर्ने नियमको पालना गराउने उल्लेख छ। यसमा कडाइ गरिएपछि अस्पतालहरूले विवरण बुझाउन थालेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७९ वटा अस्पतालले आफूले प्रदान गरेको १० प्रतिशत निःशुल्क सेवाको विवरण बुझाएका छन्। मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले २० सरकारी, ५१ निजी र ८ अन्य गरी कुल ७९ वटा स्वास्थ्य संस्थाले विवरण उपलब्ध गराएको जानकारी दिए।
अस्पतालहरूले पठाएको विवरणका आधारमा ती तथ्यांक स्वास्थ्य मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको सह–प्रवक्ता अधिकारीले जानकारी दिए। विवरण बुझाउनेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, देवदह मेडिकल कलेज, आर्या हस्पिटल अफ न्युरो सर्जिकल साइन्सेस, बी एन्ड बी हस्पिटल, काठमाडौँ मेडिकल कलेज, मनमोहन मेमोरियल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र छन्।
त्यस्तै, चितवन मेडिकल कलेज, कोशी अस्पताल, नारायणी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बी एन्ड सी मेडिकल कलेज, भेरी अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, पाटन अस्पताल, वीर अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, राष्ट्रिय ट्रमा सेन्टर र इशान बाल अस्पताल पनि विवरण बुझाएका छन्।
डा. अधिकारीका अनुसार संघ अन्तर्गत सूचीकृत प्रायः सबै अस्पतालले मन्त्रालयको प्रणालीमा विवरण अद्यावधिक गरिसकेका छन्। प्रदेश तथा स्थानीय तह अन्तर्गतका अस्पतालले भने सम्बन्धित निकायमा नै विवरण पठाउने व्यवस्था छ।
हाल नेपालमा सरकारी र निजी गरी कुल चार हजार ६१० स्वास्थ्य संस्था सञ्चालनमा छन्। यी सबै संस्थाले नियमअनुसार सेवा उपलब्ध गराउँदा दैनिक ५ देखि ६ हजार बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया