मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। यतिबेला (सोमबार बिहान) हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,
दिउँसो : देशका हिमाली भूभागको आकाशमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागलगायत बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
राति : देशका हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्ने, पहाडी भेगमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
काठमाडौँ उपत्यकाको मौसमचाहिँ कस्तो होला आज?
मौसमविद्का अनुसार यतिबेला काठमाडौँ उपत्यकाको मौसम सफा छ।
आज दिनभर नै काठमाडौँ उपत्यकाको मौसम सफा नै रहने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
‘अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ’, उनले नेपालखबरसँग भने, ‘आज दिनभरि नै मौसम यस्तै रहने देखिन्छ। पानी पर्ने सम्भावना छैन।’

Shares

प्रतिक्रिया