केही चिकित्सकले काठमाडौँमा आयोजना गर्न लागेको आईभीएफ सम्बन्धी शिविर रोक्न नेपाल मेडिकल काउन्सिलले जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई पत्राचार गरेको छ।
बुधबार काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर पत्राचार गरेका हुन्। पत्रमा अनुमति विना सञ्चालन हुन लागेको आईभीएफ सम्बन्धी चिकित्सा शिविर रोक्न तथा आवश्यक कारबाही गर्न आग्रह गरिएको छ।
एआरटी रेन्बो आईभीएफको आयोजनामा बिहीबार काठमाडौँको होटल याक एन्ड यतीमा चिकित्सा शिविर हुने प्रचार प्रसार गरिएको छ। त्यसका लागि डा. जयदीप मल्होत्रा र डा. नरेन्द्र मल्होत्रालाई प्रतिनिधि तोकिएको छ।
शिविर सञ्चालनका लागि नेपाल मेकिडल काउन्सिलबाट अनुमति लिने व्यवस्था छ। तर, यो शिविर सञ्चालनका लागि भने कसैले पनि अनुमति नलिएको मेडिकल काउन्सिलका रजिस्ट्रार डा. देवले बताए। त्यसैले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको उनको भनाइ छ।
‘उक्त प्रचार सामग्री अध्ययन गर्दा सम्बन्धित चिकित्सक/संस्था नेपाल मेकिडल काउन्सिलमा विधिवत् दर्ता भएको वा यस काउन्सिलबाट आवश्यक स्वीकृति लिएको प्रमाण देखिँदैन,’ जिल्ला प्रशासनलाई पठाएको पत्रमा भनिएको छ, ‘यसरी विना अनुमति चिकित्सा सेवा सञ्चालन गर्नु कानुन विपरीत हुनुका साथै जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना समेत रहन्छ।’
पत्रमा शिविरलाई रोकेर त्यसमा संलग्न व्यक्तिलाई आवश्यक कारबाही गर्न पनि आग्रह गरिएको छ। ‘उक्त कार्यक्रमलाई तत्काल रोक्का गर्न तथा कानुन बमोजिम आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइदिनु हुन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।

Shares

प्रतिक्रिया