विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
पाल्पा, रुपन्देही र तनहुँमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ झिरूबासमा लु.५ त १०३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही रैनादेवी छहरा ४ बस्ने २३ वर्षीय बिशाल राना छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरि तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा आँबुखैरेनीबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०२-००६ प २२८३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाकोमृत्यु भएको छ।
सोमबार साँझ भएको दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ बेलबारी नगरपालिका-४ बस्ने ३६ वर्षीया इन्दिरा मगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल दमौलीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका पैदलयात्रीको लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि रूपन्देहीको मायादेवी गाउँपालिका-७ बनगाईमा भैरहवाबाट लुम्बिनीतर्फ आउँदै गरेको लु.२ ख ५९०८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने दुर्गेश यादवकी छोरी ११ वर्षीया सृष्टि यादव छिन्। उनको मंगलबार बिहान मृत्यु भएको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यी सबै दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया