साइबर ब्युरोको नाम दुरूपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले चारजना युवकलाई पक्राउ गरेको छ।
उनीहरूले आफू साइबर ब्यूरोका मान्छे हौँ भन्दै सर्वसाधारणलाई डरत्रास देखाएर रकम असुल्ने गरेको प्रहरीको भनाई छ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरीको धरान उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय सौरव भुजेल, धरान उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सजल राई र सुनसरीको इनरूवा नगरपालिका-६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन्।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरूपयोग गरी उनीहरुले पीडितलाई फोन सम्पर्क गरेर डर त्रास तथा प्रलोभनमा पार्दै रकम पठाउन लगाएको पाइएको छ।
विद्युतीय माध्यमबाट आफूहरु ठगिएको भन्दै पीडितले दिएको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया