हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने यतिबेला (आइतबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ। अनि तराईमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया र देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।
अनि कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेससहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ।
यस्तै आज राति कोसीसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया र कर्णाली प्रदेशको हिमाली क्षेत्र र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी पहाडी र तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
अनि राति कोसी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
काठमाडौँमा हल्का वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद्ले नेपालखबरलाई दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकामा मौसम आंशिक बदली रहने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ।
आंशिक बदली भनेको आकाशमा बादल पनि लाग्ने र घाम पनि देखिने अवस्था हो।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

यो पनि : भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले?
Shares

प्रतिक्रिया