समाज


बजारमा नक्कली औषधिः एउटा पसल बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिस

बजारमा नक्कली औषधिः एउटा पसल बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिस

नेपालखबर
असार १४, २०८३ आइतबार १७:३७, काठमाडौँ

सेरोफ्लो रोटक्याप्स नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको हो।

औषधि व्यवस्था विभागका अनुसार विभिन्न औषधि पसलमा गरिएको अनुगमनका क्रममा महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल तथा चाबहिल आसपास १८ वटा, पाटन तथा जावलाखेल क्षेत्रमा ११ वटा, बसपार्क बालाजु क्षेत्रमा १४ वटा र बनेपामा ८ वटा गरी जम्मा ६६ वटा फार्मेसीको अनुगमन निरीक्षण गरिएको छ।

अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटक्याप्स नामक २१ थान नक्कली औषधि बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि बिक्री वितरण गरिरहेका तथा सरसफाइ र मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार, काठमाडौंमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागका अनुसार बजार अनुगमन आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ। यसबाट सेवाग्राहीले गुणस्तरीय र सुरक्षित औषधि प्राप्त गर्न सहज हुने तथा अवैध औषधि कारोबार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नक्कली औषधि बजारमा बिक्री वितरण भइरहेको जानकारी प्राप्त भएपछि अनुगमन सुरू गरिएको हो। विभागले उक्त नक्कली औषधिको भण्डारण, आपूर्ति तथा अनधिकृत बिक्री वितरणमा संलग्न व्यक्ति, संस्था र उत्पादकको पहिचान गरी कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया समेत अघि बढाएको जनाएको छ।

साथै, सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक तथा दर्ता भएका फार्मेसीबाट मात्र खरिद गर्न र कुनै शंका लागेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad