समाज


कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

दिनेश बुढा
असार २०, २०८३ शनिबार २०:३२, काठमाडौँ

कर्णाली नदीमा असार १८ गते यात्रुबाहक फोर्स गाडी खस्दा हराएका यात्रु भेटिएका छैनन्। तीनदेखि खोजतलास जारी रहेको भए पनि नदीमा डुबेको गाडी र सवार यात्रुको अत्तोपत्तो छैन। 

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतेडा क्षेत्रमा यात्रुबाहक गाडी दुर्घटना भएर कर्णाली नदीमा बेपत्ता छ। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले गाडी तथा यात्रुको खोजीकार्यका लागि सशस्त्रको गोताखोरको टोलीदेखि नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली नदीमा दुर्घटनास्थलदेखि बर्दिया र कैलालीको भारत सीमानासम्म गस्ती गरिरहेको जानकारी दिए।

डीआईजी सापकोटाका अनुसार शनिबार २५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए। जसमा इलाका प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक सरोज कँडेको नेतृत्वमा ६, प्रहरी चौकी पाल्तडा दैलेखबाट प्रहरी हवल्दार दिपक थापा मगरको नेतृत्वमा चार जना छन्।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर गुल्म दैलेखबाट सहायक प्रहरी नायब उपरीक्षक मातृका पौडेलको नेतृत्वमा नौ र सशस्त्र बल महेश्वरी बाहिनी बाङ्गेसिमल सुर्खेतबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर बुढाथोकीको नेतृत्वमा ६ जना गोताखोर गरी कुल २५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए। 

कर्णाली नदीसँग सीमा जोडिएका जिल्लाहरू सुर्खेत, डोटी, अछाम, कैलाली र बर्दियाको प्रहरीसँग पनि समन्वय भएर खोजीकार्य भइरहेको छ। यस्तै, खोज तथा उद्धार कार्यका लागि विशेष टोली र प्रविधिको प्रयोग भइरहेको उनले बताए। 

सशस्त्र प्रहरीको सुर्खेत बाहिनीबाट ६ जनाको गोताखोर टोली र ड्रोन क्यामरा परिचालन, विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाठ सहायक प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली सोनाम क्यामेरा र म्यागनेटसहितको टोली तथा नेपाली सेनाको हेलिकप्टरबाट समेत खोजतलास गरिएको थियो। 

घटनास्थल क्षेत्रको कर्णाली नदीमा तीव्र वहाव र धमिलो पानीका कारण खोजीकार्यमा समस्या भएको उनले बताए। बर्षायामका कारण कर्णाली नदीमा पानीको सतह निकै बढेको छ। पानी धमिलो भएकाले नदीभित्र खोजतलासमा गोताखोरलाई कठिनाई र सडकबाट नदीसम्मको भिरालो र कठीन भूगोलका कारण खोजीकार्यमा चुनौती भएको डीआईजी सापकोटाले बताए। 

प्रहरीका अनुसार गाडी कर्णाली नदीमा खसेको देखेपछि अछामतिर खेत रोपिरहेका स्थानीय बासिन्दाले दैलेखको पाल्तडामा रहेको प्रहरीलाई जानकारी गराएका थिए। दुर्घटनास्थल मानव बस्तीबाट केही किलोमिटर टाढा रहेकाले प्रत्यक्षदर्शी समेत कोही नभएको र दुर्घटनाको कारण समेत पत्ता लाग्न सकेको छैन। 

दुर्घटनामा परेको गाडी सुर्खेत यातायता प्रालि मातहतमा रहेर सञ्चालनमा भइरहेको थियो। सुर्खेतबाट कालीकोटका लागि छुट्दा गाडीमा पाँच जना यात्रुको मात्रै चलानी गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय, दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले पाँच जना यात्रुको पहिचान खुलेको जानकारी दिए। तीमध्ये दुई जना चालक र सह–चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका दाजुभाइ तुलाराम सुवेदी र रामप्रसाद सुवेदी हुन्। 

यस्तै, कालीकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा र कालीकोटकै रास्कोट नगरपालिका–२ खड्कागाउँकी सिर्जना खड्का छन्। उनीहरूको अवस्था अज्ञात छ। 

यस्तै, भीरमा अड्किएको अवस्थामा कालीकोटको पचालझरना गाउँपालिका–९ का जेखे तिरुवा फेला परेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad