समाज


आज राति यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँमा पनि भारी वर्षा हुने प्रक्षेपण
आज राति यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँस्थित धरहरा र आसपासका दृश्य। शनिबारको तस्बिरः असोक घिमिरे/रासस


नेपालखबर
साउन २, २०८३ शनिबार १९:४५, काठमाडौँ

हाल (शनिबार बेलुका) कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।

यी आसपासका ठाउँमा राति थप वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।

यस्तै देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 

यसैगरी देशका पहाडी भूभाग, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा भने आज राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

अनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यसैबिच आज राति काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले नेपालखबरलाई जानकारी दिएका छन्।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad