समाज


यस वर्ष मनसुन एक साता ढिलो भित्रिने

यस वर्ष मनसुन एक साता ढिलो भित्रिने

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ९:१९,

यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ। दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ। केरलामा मनसुन भित्रिने समय जुन १ हो। तर यस वर्ष सो स्थानमै ढिलो अर्थात् जुन ५ भन्दा अगाडि मनसुन नभित्रिने संकेत देखिएकाले यहाँ पनि एक साता ढिलो मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए।

गत वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन०) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो। उनका अनुसार मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जन हावाहुरीसहित वर्षा हुने गर्दछ।

हाल पश्चिमी वायु, पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको छ। यी प्रणाली विकसित हुने क्रमै रहेकाले पनि मनसुन ढिलो भित्रिने अनुमान मौसमविद्को रहेको छ। एउटा प्रणाली आएपछि अर्को प्रणाली आउन केही समय लाग्छ।

यसका साथै मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बंगालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ। तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ। माथिल्लो सतहसम्म पुगेको छैन। जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने बताइएको छ।

मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने भएको छ। दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने प्रक्षेपण गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad