समाज


मौसम महाशाखाको विशेष बुलेटिनः मनसुन देशैभर फैलियो, सतर्कता अपनाउनू

मौसम महाशाखाको विशेष बुलेटिनः मनसुन देशैभर फैलियो, सतर्कता अपनाउनू

नेपालखबर
असार ८, २०७७ सोमबार ०:२२,

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिएकाले पूर्वतयारी (वर्षा, बाढी, पहिरो तथा डुबानबाट बच्न) मा लाग्न आह्वान गरेको छ।

महाशाखाका अनुसार यही जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको हो।

‘सामान्यतयाः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्छ। यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो,’ आइतबार साँझ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘आज (आइतबार) जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ। यससँगै मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सम्बन्धित निकायलाई अनुरोध छ।’

योसँगै आज (सोमबार) देखि हिजो/अस्तिभन्दा वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका लागि महाशाखाले विशेष बुलेटिन जारी गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

उनका अनुसार अहिले (सोमबार बिहान ६ बजे) पनि देशभर मौसम बदली छ र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

‘आज देशैभर वर्षाको सम्भावना छ भने प्रदेश १, २, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ,’ मौसमविद् नगरकोटीले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘काठमाडौं उपत्यकाका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना देखिएको छ।’

सोमबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छः

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .