ad ad

समाज


न विवाद न उपलब्धि : लकडाउनमै बित्ने भो आईजीको कार्यकाल

न विवाद न उपलब्धि : लकडाउनमै बित्ने भो आईजीको कार्यकाल

उजिर कार्की
असार ९, २०७७ मंगलबार १०:८,

गएको माघ २८ गते सरकारले डीआईजी ठाकुरप्रसाद ज्ञवालीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्‍यो। प्रहरी महानिरीक्षक (आईजी) मा नियुक्त भएका ज्ञवालीले ३० वर्षे सेवा हदका कारण १५ दिनपछि अवकाश पाउँदैछन्।

आईजीका रुपमा ज्ञवालीले पाँच महिना पनि प्रहरी संगठन चलाउन पाएनन्। उनी जति समयका लागि आईजी रहे, त्यसमध्ये अधिकांश समय कोठाभित्रै बस्न बाध्य भए। उनको लगभग पूरै कार्यकाल लकडाउनमै बित्दैछ।

उनले कार्यकाल सुरु गर्दा कोरोना संक्रमण फैलिन थालेको थियो। त्यतिबेलासम्म नेपालमा एक जना संक्रमित भेटिएका थिए। चीनको वुहानबाट नेपाली विद्यार्थीको उद्धारको तयारी भइरहेको थियो।

उनले कार्यभार सम्हालेको ५ दिनपछि फागुन ४ गते वुहानबाट १ सय ७५ जना विद्यार्थीको उद्धार गरियो। त्योसँगै सुरक्षाकर्मीहरु कोरोना संक्रमणको जोखिम कम गर्ने काममा केन्द्रित हुन थाले। सँगै आन्तरिक बढुवाको क्रम पनि सुरु भयो।

कार्यकाल १५ दिन मात्रै बाँकी हुँदा समेत उनले काठमाडौं छाडेका थिएनन्। सोमबार पहिलो पटक काभ्रे पुगेर प्रहरी विद्यालयको होस्टलको भान्साघर उद्घाटन गरे। आईजीपी ज्ञवालीले उपत्यका छाडेको यही एक पटक मात्र हो।

ज्ञवालीले अरु आईजीपीजसरी देश विदेश भ्रमणको अवसर पाएनन्। उनलाई समयले साथ दिएन। आफ्नो कार्यकालमा चमत्कारी काम पनि देखाउन सकेनन् र विवादमा पनि परेनन्।

त्यसो त उनले विवादित मुद्दा हेर्नै नपरेको भने होइन। निवर्तमान आईजीमाथिको अपहरण मुद्दा समेत उनले हेरे। निवर्तमान आईजीपी सर्वेन्द्र खनालमाथि सांसद अपहरणको मुद्दा लाग्यो। सुरुमा जाहेरी दर्ता नै गर्न नमानेको प्रहरीले पछि सरकारी वकिलको पत्रपछि मुद्दा दर्ता गर्‍यो। र, त्यसलाई किनारा लगायो।

पूर्वकमाण्डरविरुद्ध जुन अभियोगमा मुद्दा लाग्यो प्रहरीको अनुसन्धानले त्यो पुष्टि भएन। पूर्वआईपीजी खनाललाई क्लिन चिट दिएर ज्ञवालीले सेफ ल्यान्डिङ गरे।

त्यस्तै निर्मला पन्तको मुद्दाको ज्ञवालीको ठूलो परीक्षा थियो। तर, यसमा उनी सफल सम्भावना अत्यन्त कम छ। अबको १५ दिनमा अनुसन्धान टुंगोमा नपुगे उनले पनि यसको जस लिने मौका गुमाउने छन्।

‘मेरो कार्यकालमा यो विषय टुंगो लाग्छ,’ कार्यकाल सम्हालेपछि सञ्चारमाध्यममा उनले भनेका थिए।

तर, निर्मला पन्तको मुद्दा टुंगो नलागे यो घटना किनारा लाउन नसक्ने आईजीको सूचीमा ज्ञवालीको नाम पनि दर्ज हुनेछ। त्यससँगै सर्वेन्द्र खनालको कार्यकालमा घटेको घटना अनुसन्धानको जिम्मेवारी तेस्रो आईजीको काँधमा जानेछ।

त्यस्तै, उनको कार्यकालको अर्को ठूलो घटना रुकुमको चौरजहारी हत्याकाण्ड हो। यो घटनामा प्रहरी सफल भएको छ, समयमै अनुसन्धान सकेर मुद्दा बुझाएको छ। घटनामा संलग्नहरु पनि पक्राउ परेका छन्।

उनको छोटो कार्यकाल कोरोना संक्रमणको जोखिम व्यवस्थापनमै केन्द्रित रह्यो। यो बीचमा प्रहरी हिरासतहरु नै खाली गरिए। तत्काल पक्राउ गर्नुपर्ने गम्भीर प्रकृतिका बाहेक अरु अभियुक्त नपक्रन अदालतले आदेश नै जारी गर्‍यो। नियमित काममा कम समय दिएको प्रहरी संगठन कोरोना व्यवस्थापनमै खुम्चिएको छ।

नियुक्त भएदेखि नै दैनिकजसो गृह मन्त्रालयमा कहिले बढुवाका, कहिले सुरक्षाका बैठक हुन्छन्। कोरोना केन्द्रित बैठक पनि बाक्लै बसिरहेका छन्।

कहिले सरकारले लकडाउन कडाइ भन्छ, कहिले लकडाउन खुकुलो गर्ने भन्छ सरकारले भनेअनुसार संगठनलाई चलाउँदै ठिक्क छ ज्ञवालीलाई।

उनको कार्यकालमा बढुवा प्रहरी निरीक्षकसम्म झरेको छ। यसपटक राजनीतिक हस्तक्षेप केही कम भएको पूर्वप्रहरीहरुको बुझाइ छ। प्रहरी निरीक्षकको बढुवामा नेताका केही पीएसओ तानिए। डीआईजी बढुवामा केही वरिष्ठ छुटे। नभए उनको कार्यकालका बढुवा विवादमा परेनन्।

‘अहिलेको अवस्थामा ज्ञवालीको कार्यकाललाई सकारात्मक रुपमै लिनुपर्छ,’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘लकडाउन कार्यन्वयन गराउँदै ठिक्क छ। जे गरेका छन्, सकेसम्म निर्विवादित नै छन्।’

संगठनमा चेन अफ कमान्डमा सुधार गरेका छन्। तर उनकै कार्यकालमा १२ डीआईजीको दरबन्दी कटौती भयो। सरकारसँग दरिलो अडान राख्न नसकेको आरोप उनीमाथि छ।

‘केही योजना थिए, तर सबै शक्ति कोरोनामा लगाउनु पर्‍यो,’ ज्ञवालीले भनेका छन्।

उनको कार्यकालको बाँकी रहेको समय पनि लकडाउनमै बित्ने छ। लकडाउनकै बीचमा उनी विदा हुनेछन्।

२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीको सेवामा प्रवेश गरेका ज्ञवालीको सबैभन्दा ठूलो उपलब्धि भनेकै उनी निर्विवाद रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .