समाज


उपत्यकाको ढलमा कोरोना भाइरसः कसरी भयो अनुसन्धान?

उपत्यकाको ढलमा कोरोना भाइरसः कसरी भयो अनुसन्धान?

यज्ञराज जोशी
असार २०, २०७७ शनिबार १०:४०,

दुई वर्ष अघिदेखि नै थापाथलीस्थित सेन्टर फर मोलिक्युलर डाउनामिक्स–नेपाल (सीएमडीएन)ले सरकारको स्वीकृतिमा काठमाडौं उपत्यकाको ढलमा टाइफाइडको जीवाणु छ कि छैन भनेर अनुसन्धान गरिरहेको थियो।

जनस्वास्थ्यका क्षेत्रमा विभिन्न अनुसन्धान गरिरहेको संस्थाले त्यही अनुभवका आधारमा दुई महिनाअघि काठमाडौंका ढलमा कोभ–सार्स–२ अर्थात कोरोना भाइरस छ कि छैन? भनेर अनुसन्धान गर्ने सोच बनायो।

उक्त सोचलाई अघि बढाउने जिम्मेवारी लिए संस्थाका कार्यकारी निर्देशक डा. दिवेश कर्माचार्यले। कर्माचार्यले अष्ट्रेलियाको गिफ्थ युनिभर्सिटीबाट ‘कन्जरभेसन तथा माइक्रोबायोम जेनेटिक्स’ विषयमा पीएचडी तथा त्यसअघि अमेरिकाको वायन स्टेट कलेजबाट ‘कन्जरभेसन बायोलोजी’मा स्नातकोत्तर गरेका छन्। उनीसँग अमेरिकामा अनुसन्धान वैज्ञानिकका रुपमा काम गरेको अनुभव पनि छ।

‘वातावरणमा भाइरस छ कि छैन भनेर हामीले पहिलेदेखि नै अनुसन्धान गर्दै आएका थियौं,’ कर्माचार्यले नेपालखबरसँग भने, ‘त्यही अनुभवका आधारमा उपत्यकाका ढलमा कोरोनाका जीवाणु छन् कि छैनन् भन्ने हेर्न हामीले अध्ययन थालेका हौँ।’

कोरोना भाइरस नयाँ भएकाले यसको अध्ययन अनुसन्धान हुने क्रम अझै जारी छ। सोहीक्रममा मानिसको दिसामा पनि कोरोना भाइरस देखिएको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ। उपत्यकामा अधिकांश घरका ट्वाइलेटहरु ढलमै मिसिएका छन्। त्यही भएर काठमाडौंको ढल परीक्षण गर्ने सोच आएको उनले बताए।

‘उपत्यकाभित्रबाट दश दिन अघि हामीले चार ठाउँबाट ढलका नमूना संकलन गरेका थियौं। एउटा ठाउँबाट ३–४ वटा नमूना संकलन गर्यौ,’ कर्माचार्यले थपे, ‘ल्याबमा ल्याएर तीनको अनुसन्धान गर्दा दुई ठाउँको नमूनामा कोरोना भाइरस पाइयो।’

नमूना संकलन गरिएका स्थानमा त्रास उत्पन्न हुनसक्ने भन्दै सीएमडीएनले ती स्थानबारे केही खुलाएको छैन। उनले आगामी दिनमा सरकारसँगको समन्वयनमा ती स्थानहरुबारे खुलाउन सकिने बताए।

आफ्नो अनुसन्धानलाई विश्वास गर्ने आधार दिँदै कर्माचार्यले भने, ‘हामीले भाइरसलाई आइसुलेट गरेर त्यसको आरएनए निकाल्यौं। आरएनएको डीएनए सिक्वेन्सिङ गरेको डाटा हामीसँग सुरक्षित छ। त्यसलाई ठूलो अनलाइन डाटाबेससँग तुलना गरेर निस्केको नतिजाबाट हामी यो निष्कर्षमा पुगेका हौं।’

उनले हरेक स्थानबाट एउटामात्रै नभएर ३–४ वटा नमूनाहरु परीक्षण गर्दा एउटै नतिजा आएको बताए।

भाइरस रहेको स्थान पत्ता लगाउन सहयोग
दिवेशले आफूहरुको अनुसन्धानले भाइरस रहेको समुदाय र स्थान पहिचान गर्न सजिलो हुने बताए।

‘अनुसन्धानमा जुन ठाउँको ढलमा भाइरस देखिएको छ। त्यो क्षेत्रमा कोही न कोही संक्रमित छ भन्ने हो,’ उनले भने, ‘यसरी ढलमा भाइरस भेटिएको क्षेत्रलाई नै क्वारेन्टिनमा राखेर जाँच गर्नुपर्छ। त्यसो गर्दा उनीहरुले अरुलाई सराउने सम्भावना रहँदैन।’

उनले सबै जनाको एक एक गरेर परीक्षण गर्न नसकिने अवस्थामा यो विधि उपयोगी हुने बताए।

‘यो विधिबाट ३०–५० घरबाट आएको दिसा, ढलको नमूना लिएर त्यहाँ कोरोना भाइरस छ कि छैन पत्ता लगाउन सक्छौं,’ उनले थपे, ‘यदि देखियो भने त्यही स्थानको मान्छेहरुलाई परीक्षण गरेर संक्रमित को छ कहाँ छ भनेर पत्ता लगाउन सकिन्छ।’

समुदायमा फैलिएको संकेत
उपत्यकामा बगेर आउने ढलमा धेरै घरको दिसापिसाब आउने भएकाले ढलमै भाइरस देखिनुले समुदायमा भाइरस फैलिएको संकेत भएको उनले बताए।

‘समुदायबाट नै बगेर आएको ढलमा कोरोना भाइरस देखिनु भनेको सो क्षेत्रमा कसैलाई न कसैलाई कोरोना भाइरस छ भन्ने हो,’ कर्माचार्यले भने।

जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले पनि उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि गर्नु भएको बताए।

‘ढलमा कोरोना भाइरस देखिनुले काठमाडौं उपत्यकाको समुदायमा नै कोरोना फैलिएको छ भन्ने प्रमाण दिएको छ,’ उनले भने, ‘यसले उपत्यकामा परीक्षण व्यापक बनाउन आवश्यक रहेको जनाउँछ।’

‘काठमाडौंमा सामाजमा कोरोना भाइरस फैलाएको छ कि छैन भनेर प्रश्न गरिरहेका थियौं। यसले छ भनेर संकेत गर्यो,’ दीक्षितले भने, ‘यसले परिक्षण एकदम जरुरी देखायो। सामाजमा छ भन्ने संकेत पायौं भने जो कोहीले पनि परिक्षण गर्न पाउनुपर्यो।’

उनले शंका लागेर, अस्पताल भर्ना भएरमात्रै हैन कि कसैलाई शंका लाग्दा नै सरकारले अनुमति दिएको प्रयोगशालामा गएर परीक्षण गर्न पाउनुपर्ने बताए।

‘त्यस्तो गर्दा व्यक्ति आफूपनि सुरक्षित हुन्छ र उसले आफ्नो परिवार तथा जोखिम समूहलाई पनि सुरक्षित राख्न सक्छ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .