समाज


कोरोनाको हटस्पट बन्ने जोखिममा काठमाडौं उपत्यका

कोरोनाको हटस्पट बन्ने जोखिममा काठमाडौं उपत्यका

यज्ञराज जोशी
असार २४, २०७७ बुधबार १०:३२,

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यका हटस्पट बन्नसक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले सचेत गराएका छन।

उपत्यकामा असार २० गतेसम्म जम्मा १ सय ५४ जना संक्रमित थिए। त्यो संख्या २३ गतेसम्ममा बढेर २ सय ६६ पुगेको छ। २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना नयाँ संक्रमित फेला परेका थिए।

विशेषज्ञका अनुसार देशभर संक्रमित संख्या घट्नुको मुख्य कारण आइसोलेसनमा बसेकाहरुको संख्या घट्दै जानु र पर्याप्त परीक्षण नगरिनु हो। उपत्यकामा भने मानिसहरु भित्रिनुका साथै विदेशबाट आउनेहरुमा पनि संक्रमण देखिएपछि संक्रमितको ग्राफ उकालो लागेको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले देशभर घटेपनि उपत्यकामा संक्रमण बढेको भन्दै सचेत रहन आह्वान गरे।

‘आइसोलेसनमा रहेको संख्यामा कमी आउनु तथा बाहिरबाट आउने दरमा कमी आएकाले पनि देशभर कोरोना संक्रमित घट्दै गएको हुनसक्छ,’ उनले भने, ‘तर, ठिक विपरीत उपत्यकामा मानिसहरु आउने क्रम पनि बढ्दो छ र चहलपहल पनि बढेकाले उपत्यकामा संक्रमित बढ्दै छन्।’

उनका अनुसार उपत्यकामा विदेशबाट पीसीआर टेस्ट नगरी आउने, चोरीको बाटो प्रयोग गरी आउने तथा विभिन्न रोगको उपचारका लागि अस्पताल पुग्दा परीक्षणका क्रममा संक्रमित पाइएको छ।

उपत्यकामा हालसम्म देखिएका संक्रमितमध्ये ७९ जना विदेशबाट उद्धार उडानबाट आएका हुन्। नेपाल आएकामध्ये ३५ प्रतिशतले पीसीआर, ३५ प्रतिशतले आरडिटी तथा बाँकी चेकजाँचबिनै आएको पाइएको पाण्डेले बताए।

महाशाखाका अनुसार उपत्यकाका विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन्। काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुमबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, बसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा संक्रमित भेटिएका छन्।

यस्तै ललितपुरको धोबीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदावरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गठ्ठाघरमा संक्रमित भेटिएका छन्।

सरकारले नेपालमा संक्रमण समुदायमा फैलिइनसकेको बताउँदै आएको छ। डा. पाण्डेले नेपालमा ८७ प्रतिशत आयातित केस रहेको तथा बागमती र गण्डकीमा छिटपुट, अन्य प्रदेशमा समूह समूहमा संक्रमित देखिएपनि समुदायमा फैलिनसकेको जनाए।

‘अहिले संक्रमित ८७ प्रतिशत १५ देखि ५४ वर्षका पुरुष छन्। उनीहरु विदेशबाट आएर क्वारेन्टिन, आइसोलेसनमा बसेका छन्,’ उनले भने, ‘यदि समुदाय फैलिएको हो भने पुरुषकै अनुपातमा महिला तथा बालबालिकामा पनि देखिनुपर्ने हो तर देखिएको छैन।’

उनले उपत्यकाको तीनकुने र नख्खु टोलका २ सय २८ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि पोजिटिभ नदेखिएको बताए। त्यसबाहेक ९ ठाउँमा औसत सय जनाको परीक्षण गर्न लागिएको जानकारी दिए।

जनस्वाथ्यविद् डा. रवीन्द्र पाण्डे भने जनघनत्व बढी भएकाले काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्नसक्ने खतरा आँैल्याए।सरकारी तथ्यांकलाई नमुनाका रुपमा मात्रै बुझ्नुपर्ने उनको भनाइ छ।

‘काठमाडौं उपत्यकामा ४० लाख जनसंख्या छ। जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिम बढी हुन्छ,’ उनी भन्छन, ‘उपत्यकामा एकदम न्यून मात्रामा कोरोना परीक्षण भएको छ। जति बढी परीक्षण भयो त्यति बढी संक्रमित देखिने हो। त्यसैले सरकारले देखाएको तथ्यांकलाई नमुनाका रुपमा बुझ्नुपर्छ।’

उनले अस्पतालमा उपचार गर्न आएका, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित उपत्यकाका प्रत्येक ठाउँमा फाट्टफुट्ट संक्रमित देखिएको तथा ट्राभल हिस्ट्री समेत नभएकालाई देखिनुले संक्रमित तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तिले धेरै जनालाई संक्रमण विस्तार भएको हुनसक्ने बताए।

अबको २ महिना नागरिकहरु सेल्फ लकडाउनमा बस्न सके कोरोना संक्रमणको मुख्य लहरबाट बच्न सकिने उनको सुझाव छ।

देशभर घट्दै संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला पाँच दिनमा संक्रमण दर निरन्तर घटिरहेको छ।

असार १९ गते देशभर २४ घण्टामा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित देखिएका थिए। सो दिन देखिएका ७ सय ४० जना संक्रमित कुल परीक्षणको १६.५ प्रतिशत हो। त्यसपछि चार दिनमा कोरोना संक्रमितहरु घट्दै गएका छन्।

असार २० गते २ सय ३२ (५.७ प्रतिशत), २१ गते २ सय ९३ (६.२ प्रतिशत), २२ गते १ सय ८० (३.८२ प्रतिशत) र बिहीबार २ सय ४ (३.३ प्रतिशत) संक्रमित फेला परेका थिए।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एकसमय देशका सबै ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएकोमा मंगलबारदेखि प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिए।

यस्तै संक्रमणमुक्त भएर घर फर्किनेको संख्या पनि बढ्दै गएको छ। हालस ७ हजार ४ सय ९९ जना निको भएर घर फर्केका छन्। यो संक्रमित १६ हजार १ सय ६८ को ४६.३८ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .