समाज


‘कोरोना संक्रमणको सरकारी तथ्यांक महामारीशास्त्रको सिद्धान्तविपरीत’

‘कोरोना संक्रमणको सरकारी तथ्यांक महामारीशास्त्रको सिद्धान्तविपरीत’

यज्ञराज जोशी
असार २८, २०७७ आइतबार १०:४९,

असार १९ गते नेपालमा ७ सय ७४ जनामा कोरोना संक्रमण भेटिएको थियो। त्यो, एकै दिनमा फेला परेको सबैभन्दा ठूलो संख्या थियो।

त्यसपछि भने नेपालमा लगातार कोरोना संक्रमितको संख्या घट्दै गएको छ। संख्या घट्दै जाँदा शनिबार नेपालमा जम्मा ७० जनामा मात्रै कोरोना संक्रमित भेटिए।

नेपालमा पछिल्लो हप्ताको परीक्षण तथा संक्रमित संख्या
असार २७ : परीक्षण ३६४८, संक्रमित : ७०
असार २६ : परीक्षण ४८०६, संक्रमित : ११८
असार २५ : परीक्षण ४५८८, संक्रमित : १०८
असार २४ : परीक्षण ४६९६, संक्रमित : २५५
असार २३ : परीक्षण ६१३३, संक्रमित : २०४
असार २२ : परीक्षण ४७२१, संक्रमित : १८०
असार २१ : परीक्षण ४७१०, संक्रमित : २९३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विदेशबाट आएका मानिसहरुलाई क्वारेन्टिनमा राखिएकाले तथा संक्रमितहरु पत्ता लगाएर आइसोलेसनमा राखेकाले उनीहरुले अरुलाई सार्न नपाएको बताए।

‘पछिल्लो दिनमा कोरोना संक्रमण दर अलि घटेको छ,’ उनले भने, ‘लकडाउनले धरै मानिसहरु बाहिर निस्कन पाएनन्, विदेशबाट आएका मान्छेलाई क्वारेन्टिनमा राखियो र संक्रमितहरु पत्ता लगाएर आइसोलेसनमा राखियो। यसो गर्दा उनीहरुले अरुलाई सार्न पाएका छैनन्।’

उनले थप संक्रमित पत्ता लगाउन समुदायस्तरमै परीक्षण गर्दा समेत संक्रमण नदेखिएको दाबी गरे।

‘हामीले समुदायस्तरमा पनि परीक्षण गरिरहेका छौं,’ उनले थपे, ‘काठमाडौंमा १२ सय जनाको परीक्षण गर्दा जम्मा ३ जनामात्रै संक्रमित देखिए। तर, सरकार मात्र नभएर नागरिकहरु पनि संक्रमण फैलाउन नदिन सचेत हुनुपर्छ।’

सरकारले नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लागेको तथ्यांक देखाइरहँदा जनस्वास्थ्य विज्ञहरुले भने यसलाई विश्वास गर्न मानेका छैनन्। जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले नेपालमा देखाइएको आँकडा महामारी शास्त्रको नियम विपरीत देखिने बताए।

‘महामारीशास्त्रको सिद्धान्तविपरीत नेपालमा विगत ५–७ दिन यता संक्रमितको संख्या नाटकीय ढंगले घटिरहेको छ,’ उनी भन्छन्, ‘परीक्षणको गति एकदम सुस्त हुनु, लामो समय होल्डमा राखेका नमुनाको आरएनए नष्ट हुनु, प्रयोगशालामा गलत रिपोर्ट आउनु, कन्ट्याक्ट ट्रेसिङ नगर्नु लगायत कार्यले संक्रमणको गति सुस्त देखिएको हुनसक्छ।’

उनले सरकारी तथ्यांकले संक्रमितको संख्या कम देखाए पनि यथार्थमा समुदायमा संक्रमितको संख्या बढ्दो ट्रेन्डमा रहेको दाबी गरे। सामुदायिक तथा निजी प्रयोगशालालाई पीसीआर टेस्ट गर्न दिने सरकारको निर्णय शीघ्र कार्यान्वयन गरी परीक्षण दायरा बढाउन समेत उनले माग गरे।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिले नै नेपालमा संक्रमणदर ओरालो लाग्यो भन्ने निष्कर्ष निकालिहाल्न नहुने बताए। उनले विदेशबाट आउनेहरुको संख्यामा कमी आएकाले संख्यात्मक रुपमा संक्रमण घटेको जस्तो देखिएको बताए।

‘एक समयमा अत्यधिक रुपमा विदेशबाट आएकाहरुलाई संक्रमण देखिएको थियो। अहिले विदेशबाट आउनेको संख्या घटेको छ,’ उनले भने, ‘अव्यवस्थित क्वारेन्टिनका कारण पनि एकअर्कामा सार्ने समस्या देखिएको थियो। अहिले क्वारेन्टिन खाली भएसँगै त्यहाँ पनि संक्रमण घटेका छन। तर, कतिपय मानिसहरु चोरबाटो हुँदै गाउँ पसेका छन। कतिपयलाई परीक्षण नै नगरी घर पठाइएको छ। उनीहरुको परीक्षण नगरिकन संख्या घट्यो भन्न सकिन्न।’

उनले यसअघि क्वारेन्टिनमा मात्रै सीमित परीक्षणलाई गाउँ गाउँसम्म पुर्‍याउनुपर्ने बताए। गाउँ गाउँबाट संकलन गरिएका स्वाव यदि नेगेटिभ आएमा नेपालमा संक्रमणदर ओरालो लागेको मान्न सकिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .