समाज


जर्साबले चम्काए आँखा अस्पताल

जर्साबले चम्काए आँखा अस्पताल

कृष्ण आचार्य
साउन ३, २०७६ शुक्रबार ११:१०,

तनहुँको घले गाउँ। पुर्खा लमजुङको घले गाउँबाट झरेर तनहुँ पुगेपछि दमनबहादुर घले २०१२ सालमा त्यहीँ जन्मिए। परिवारको साइलो छोराको रुपमा जन्मिएका घलेले एसएलसीसम्म स्थानीय विद्यालयमै पढे। चितवनबाट आईए गरेपछि उच्च शिक्षाका लागि काठमाडौं हानिए। त्रिचन्द्र क्याम्पसमा स्नातक पढ्न थाले।

उनको पारिवारिक पृष्ठभूमि खेती–किसानी थियो। परिवारले छोरा ब्रिटिस सेना बनोस् भन्ने आकांक्षा राखेको थियो। समाज र आफन्तमा रहेको ब्रिटिस सेनाप्रतिको मोहको प्रभाव हुनुपर्छ सायद। तर, उनलाई सेना बन्न फिटिक्कै मन थिएन। आईए पढ्दा आएको अफरसमेत टुक्राएका थिए।

उनलाई के बन्ने भन्ने नै थाहा थिएन् छैन। काम गर्न विदेश जान नपरोस्, बस् यत्ति भए पुग्थ्यो।

कुनै सपना र आकांक्षाबिना पढाई चलिरहेकै थियो। एक दिन साथीहरुको उक्साहटमा आएर उनले सहायक सेनानीको फर्म भरे। नाम पनि निकाले। यसरी २१ वर्षको उमेरमा पैदल फौज, श्री काली बहादुर गणबाट उनको सैनिक जीवन सुरु भयो।

सेना बनेपछि ‘ब्रेन वास’
तर, सेनाको जागिर त्यति सजिलो थिएन। उनकै शब्दमा भन्ने हो भने सेनामा दुःखको अर्को विकल्प नै छैन। उनी भन्छन्, ‘मैले दुःख त धेरै नै गरेँ, त्यसको कुनै सीमा नै छैन। तर, दुःख अनुसारको फल प्राप्त गरेको भयो भने अवश्य सन्तुष्टि प्राप्त हुन्थ्यो हो।’

daman ghale 2दमनबहादुर घले

आफ्नो बिहे हुँदा (२०३७ सालमा) समेत उनले ४ दिनमात्र बिदा पाएका थिए। बिहेको तेस्रो दिन तालिमका लागि जोमसोम जानुपर्यो। त्यसपछि ६ महिना उतै बिताए।

त्यसपछि पनि श्रीमती–परिवारलाई धेरै समय दिन पाएनन्। उनी कामलाई प्राथमिकता दिने सच्चा सिपाही भने बनिरहे।

सेनामा प्रवेश गरेपछि उनको ‘ब्रेन वास’ गरिएको थियो। स्नातक पढ्दै गरेका घले काँचो माटो थिए। सेनामा प्रवेश गरेपछि दिइने तालिममा उनलाई राष्ट्रियताको पाठ पढाइयो। र, उनको दिमागमा ‘देश’ र ‘जनता’ भन्ने शब्दको प्रवाह भइरह्यो।

‘परिआएको खण्डमा राष्ट्रको माटो, धर्तीको चार किल्लालाई जोगाउन आफ्नो ज्यान नै दिनुपरे पनि पछि नहट्ने अठोट एउटा सिपाहीमा हुन्छ’, घले भन्छन्, ‘जुन ममा पनि थियो।’ राष्ट्रिय भाव र अनुशासन आर्मीका दुई मूल मन्त्रजस्तै हुन्। जसलाई उनले सधैँ पालना गरिरहे। फलस्वरुप उनले अवसरहरु पनि पाउँदै गए।

घलेले आफ्नो जीवनमा २४ वटाभन्दा धेरै त सैनिक कोर्षहरु नै गरे। अमेरिका, भारत, हवाई, बंगलादेश, फ्रान्सलगायतका देशमा गएर विभिन्न तालिमहरु लिए। जसले उनको सक्षमता थप सुदृढ गर्दै लग्यो।

उनी दुईपटक शान्ति सेनामा गए। सन् १९८५ मा मानवीय सहायता अफिसर भएर ६ महिनाका लागि लेबनान पुगे। अर्कोपटक सन् १९९२ मा सैनिक निरीक्षकको रुपमा १ वर्ष युगोस्लाभियामा बिताए।
युगोस्लाभियामा काम गर्दा त साथमा हतियारसमेत हुँदैनथ्यो। उनी युद्धरत दुवै पक्षलाई एकसाथ राखेर युद्ध नगर्न सुझाब दिने काम गर्थे। जुन आफैँमा चुनौतीपूर्ण थियो। तर, उनले आफ्नो जिम्मेवारी पूरा गरेरै छाडे।

‘मेरो रुची र अनुभव दुई पक्षबीच छलफल गराउने, मिलाउने क्षेत्रमा भएकाले त्यहाँ मैले इन्जोय गरेँ’ घले भन्छन्।

जनयुद्धको त्रास
१० वर्षे जनयुद्धका क्रममा उनको पोस्टिङ विभिन्न ठाउँमा भयो। यस्तो बेला उनलाई आफ्नोभन्दा बढी परिवारका सदस्यको चिन्ताले सताउँथ्यो। कतै उनीहरुलाई केही भइहाल्छ कि? मनमा सबैभन्दा धेरै खेल्ने प्रश्न नै यही थियो।

daman 3दमनबहादुर घले

त्यो बेला उनको डडेलधुरा, कञ्चनपुर, धादिङलगायतका स्थानमा सरुवा भयो। हरेक ठाउँमा उनले युद्धको त्रास भोगे।

धनगढीमा दिन बिराएर सेनाको ब्यारेकमा आक्रमण हुन्थ्यो। कञ्चनपुर पनि उच्च त्रासमा थियो। तर, घलेको उचित व्यवस्थापनका कारण कुनै दुर्घटना हुन पाएन। उनको नेतृत्वमा रहेका कुनै पनि ब्यारेकमा कुनै पनि खाले घटना भएनन्।

‘एक हिसाबले म आफूलाई भाग्यमानी ठान्छु र अर्को हिसाबले मेरो व्यवस्थापनको परिणाम पनि हो कि भन्ने लाग्छ’, उनी सुनाउँछन्।

सेना समायोजनमा संयोजनकारी भूमिका
विस्तृत शान्ति–सम्झौता (२०६३) पछि १० वर्षे जनयुद्ध अन्त्य भएको घोषणा गरियो। सहमतिअनुसार नेपाली सेना र जनमुक्ति सेना (माओवादी लडाकु) को समायोजन हुने भयो। त्यसबेला घलेले नेपाली सेनाको तर्फबाट संयोजनकारी भूमिका खेले।

सम्झौतामा माओवादी लडाकुका लागि निश्चित स्थान तोकेर शिविरको व्यवस्था गरिएको थियो। त्यसपछि लडाकुसँग रहेको हतियार व्यवस्थापन गरियो। जसमा घलेले नेतृत्वदायी भूमिका निर्वाह गरे। उनी भन्छन्, ‘त्यो समय मलाई निकै खुसी महसुस भएको थियो। हतियार व्यवस्थापनपछि युद्ध पनि सकिएको अनुभूति भयो।’ सेना समायोजनपछि पनि घलेको अग्रसरतामा बनेको योजनाअनुसार उनीहरुको व्यवस्थापन गरियो।

गल्फले जुराएको आँखा अस्पतालको यात्रा
घले सेनामा हुँदासम्म गल्फको त्यति धेरै चलन थिएन। उनी सहायक रथी भएपछि सन् २००७ देखि गल्फ खेल्न सुरु गरेका हुन्। सेनाको सबैभन्दा उच्च तहको अध्ययन ‘नेसनल डिफेन्स कोर्स’का लागि एक वर्ष बंगलादेश गए। बंगलादेशमा रहँदा उनले गल्फ सिके।

त्यसपछि गल्फमा उनको रुची बढ्यो। यतिसम्म कि बंगलादेशबाट फर्किएको दुई वर्षपछि हिमालयन बैंकले आयोजना गरेको गल्फ प्रतियोगितामा उनी ‘गोल्डेन वाच’ जित्न सफल भए।
यसरी उनको गल्फ मोह बढिरहेको थियो। २०६९ सालमा सेवा निवृत्त भए। त्यसपछि त प्रायः गल्फ क्लबमा देखिन थाले।

daman ghaleदमनबहादुर घले

उनी रिटायर्ड भएपछि ६–७ महिनादेखि निरन्तर गल्फ खेलिरहेका थिए। एकदिन आर्मी गल्फ क्लबमा उनको भेट नेपाल आँखा अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीसँग भयो।

भेटका क्रममा मैनालीले घलेसामू एउटा प्रस्ताव राखे, ‘आँखा अस्पतालको व्यवस्थापन अलि चुस्त बनाउनुपर्ने छ। त्यसका लागि तपाईंले ८–१० महिना या १ वर्ष कति हुन्छ समय दिनुपर्यो।’ प्रस्ताव प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि थियो।

घलेले भर्खरै आफू रिटायर्ड भएकाले केही समय विश्राम लिन चाहेको बताए। त्यही पनि यसबारे परिवारमा सल्लाह गर्ने र एक साताभित्र जानकारी गराउने आश्वासन पनि दिए।

उनले घरमा गएर आँखा अस्पतालबारे सोचे। परिवारको सल्लाह पनि  लिए। आँखा अस्पतालमा काम गर्नु भनेको एक प्रकारको सामाजिक कार्य पनि हो भन्ने भएपछि लगत्तै मैनालीलाई सकारात्मक जबाफ दिए। अर्को सातादेखि त उनी अस्पताल परिसरमा देखिन थाले।

फेरियो अस्पताल
आफ्नो अनुभवभन्दा फरक क्षेत्रमा काम गर्न घलेलाई त्यति सहज थिएन। न त उनी आँखाका डक्टर हुन न त उनकालाई आँखा अस्पतालका बारेमा राम्रो ज्ञान नै थियो। सेनामा काम गर्दा व्यवस्थापन पक्षमा भने उनले राम्रै अनुभव संगालेका थिए। ‘मैले सेनामा धेरै समय नेतृत्वदायी भूमिकामा रहेर काम गरेँ’, घले भन्छन्, ‘क्षेत्र फरक भए पनि व्यवस्थापनको पाटो एउटै हुन्छ भन्ने हिसाबले ममा हौसला बढेको हो।’

उनले सुरुवाती ६ महिना अस्पताललाई बुझ्नमा खर्चिए। त्यसपछि अस्पताललाई कसरी अगाडि बढाउन सकिन्छ भनेर स्वअध्ययन गर्न थाले। अस्पतालका कमी–कमजोरी र सुधार गर्न सकिने पाटोबारे राम्रै अध्ययन गरे।

म्यान, मटिरियल, मनी र मसिन अर्थात ‘फोर एम’। घलेले निष्कर्ष निकाले–यी चार कुराको पहुँच र गुणस्तरमा ध्यान दिने हो भने अस्पतालको सुधार गर्न सकिन्छ। मनी भयो भने अन्य तीन कुरा पनि सहज हुन्छ भन्ने उनले बुझिसकेका थिए। तर, अस्पतालको अवस्था त्यहीँनिर कमजोर थियो। अस्पताल कर्मचारीलाई तलब खुवाउने हैसियतभन्दा धेरै माथि थिएन।

अस्पताललाई माथि पुर्याउन सुरुमा दुई मुख्य काम सर्जरी संख्या बढाउने र अन्तर्राष्ट्रिय दातृ निकायसँग हातेमालो गर्ने योजना उनले बनाए। यस क्रममा आँखा अस्पताललाई नै लक्ष्य बनाएर सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्बन्ध विस्तार गर्ने काम गरे। र, यसमा सफल पनि भए।

 nepal aakha aspatal 2नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौँ

साथै, सर्जरीको संख्या पनि बृद्धि भयो। उनी आउँदा दैनिक ३–४ जनाको सर्जरी हुन्थ्यो भने अहिले २०–२५ जनाको हुन्छ। आफ्नै प्रयोगशाला स्थापना भएको छ। सयभन्दा बढी एमबीबीएस गरेका डाक्टरहरु इन्टर्नसिप गरिरहेका छन्। अस्पतालको भौतिक संरचना निर्माण र निःशुल्क शिविरहरु सञ्चालनका कामहरु भइरहेका छन्।

परिणामस्वरुप अहिले अस्पतालको स्वरुप नै फेरिएको छ। ६–७ वर्षअघि अस्पताल आएकाहरु अहिले आउँदा फेरिएको स्वरुप देख्दा दंग पर्छन्।

घले पनि यो सबै देख्दा सन्तुष्ट छन्। आफूसँगै अस्पतालको टिम र कर्मचारीको सहयोगमा यो सफल भएको उनको अनुभव छ।

उनी थप्छन्, ‘काममा सबैभन्दा महत्वपूर्ण कुरा धैर्यता हो। मैले हल्लाखल्ला नगरी आफ्नोतर्फबाट राम्रो गर्ने प्रयास गरेँ र अब आगामी दिनमा नयाँ पुस्ताले मेरो ठाउँमा रहेर अझ राम्रो काम गर्ने विश्वास लिएको छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .