सरकारले पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने भएको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो। गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहात दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।
घाइतेहरुको सम्पूर्ण खर्चपनि सरकारले व्यहोर्ने निर्णय भएको छ।
घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विकको हत्या भएको थियो।
यस्तै भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टिकाराम नेपालीको हत्या भएको थियो। घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का घाइते भएका छन्। यस्तै भेरी ३ का विभाग पुन, इन्द्रजंग शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यानको कुमाख ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका छन्।
सरकारले खाद्य पदार्थहरुको गुणस्तर निर्धारण सम्बन्धि आदेश स्वीकृत गरेको छ। आदेश स्वीकृत भएसँगै स्थानीय खाद्य उत्पादनको गुणस्तर मापदण्ड तोकिने छ।
मन्त्रिपरिषदले राष्ट्रिय जनगणना वि.स.२०७८ का लागि घर तथा घर परिवार सूचीकरण फारम र मुख्य प्रश्नावली पनि स्वीकृत गरेको छ।
यस्तै सुपरमाइ क्यासकेड जल विद्युत आयोजना र गर्च्याङ खोला साना जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि सरकारले गरेको उनले बताए।
यसैगरी नेपाल बंगलादेश वाणिज्य सचिव स्तरको छैठौँ बैठकका लागि वार्ता गर्न सचिवको संयोजकत्वमा ११ सदस्य रहेको वार्ता टोली गठन पनि भएको छ।

प्रतिक्रिया