समाज


काठमाडौंकै १४९ वर्ष पुरानो राम मन्दिरको यस्तो हाल, ३७० रोपनी जग्गा अतिक्रमण (भिडियो)

काठमाडौंकै १४९ वर्ष पुरानो राम मन्दिरको यस्तो हाल, ३७० रोपनी जग्गा अतिक्रमण (भिडियो)

यज्ञराज जोशी
साउन २९, २०७७ बिहिबार १२:३५,

बत्तीसपुतलीस्थित डेढ सय वर्ष पुरानो राम मन्दिरको जग्गा ३ सय ७३ रोपनीबाट ३ रोपनीमा खुम्चिएको छ। अरु सबै जग्गा अतिक्रमणमा परेको छ।

वि.सं १९२८ मा कमान्डिङ कर्णेल सनकसिंह टण्डनले उक्त मन्दिर निर्माण गरेका थिए। उनले मन्दिर सञ्चालनका लागि ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी गरिदिएका थिए। तर हाल मन्दिरले चर्चेको पौने ३ रोपनी जग्गामात्रै बाँकी छ।

काठमाडौंका विभिन्न क्षेत्रमा रहेका मन्दिरको जग्गा मोहीको नियन्त्रणमा रहेको राम मन्दिर निजी गुठीका सदस्यसचिव केशवध्वज राणा बताउँछन्। तर, कुन जग्गा कुन मोहीको नियन्त्रणमा छ भन्ने विवरण उनले दिन सकेनन्।

‘गुठी स्थापना गरी मन्दिर चलाउन ३ सय ७३ रोपनी जग्गा दिइएको हो। अदालतमा मुद्दा पर्दासमेत गुठीले ३ सय ७३ रोपनी जग्गाको तथ्यांक पेस गरेर मुद्दा समेत जितेका थियौं,’ राणाले भने, ‘गुठी अन्तर्गत अहिले ३ रोपनी ४०–५० आना बाँकी छ। कति लोप भएर गए। कति मोहीले नापीमा देखाउँदै देखाएनन्। आफ्नै नाममा लेखाए।’

Ram_mandir_9.jpg
राम मन्दिर निजी गुठीका सदस्यसचिव केशवध्वज राणा

उनका अनुसार गुठीको जग्गासुन्दरीजल, लप्सीफेदी, भैँसेपाटीलगायतका स्थानमा छन्। जग्गाको तिरो पनि एकदमै कम आउने गरेको छ।

गुठी संस्थान ऐन, २०३३ ले गुठीको जग्गा कमाएर वर्षेनि कुत बुझाइ रहेकाहरूलाई मोहीको हक दिने व्यवस्था गरेको छ। मोहीयानी हककै कारणले वर्षौँदेखि मोहीहरुले कमाइआएको जग्गा आफूहरुले केही गर्न नसक्ने राणाले बताए।

‘ठ्याक्कै यति मोही छन् भन्ने विवरण छैन। करिब डेढ सय होलान्। त्यसमध्ये ४०–५० जनाले तिरो तिर्छन्,’ उनले भने, ‘जग्गामा सबै मोहीको घर बनेको छ। मोहीले नमानुञ्जेल घर बनिसकेपछि गुठीको केहीपनि अधिकार हुँदैन। उहाँहरुले मोहियानी हक अन्तर्गत बाली तिर्नुहुन्छ।’

राणाका अनुसार मोहीहरुले तिर्ने बाली पनि नगण्य छ। पहिले रोपनीको महिनाको ४–५ सय बाली तिर्नेहरु अहिले बढीमा १५–१६ सय तिर्छन्। बाली तिर्नका लागि आफूहरुले सूचना प्रकाशित गरेपनि अधिकांशले वास्ता नगरेको उनले बताए।

Ram_mandir_6.jpg

कहाँ गयो जग्गा?
सनकसिंहले वि.सं. १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन देखाएको बहादुरीको कदर गरी वि.सं. १९१६ मा तत्कालीन राजा सुरेन्द्र शाहले काठमाडौँको बत्तीसपुतलीमा ८१ रोपनी जग्गा दिएका थिए।

थप जग्गा आफूले किनेर जम्मा ३७३ रोपनी ८ आना ३ पैसा जग्गा उनले सो मन्दिरको सञ्चालनको लागि गुठी राखिदिएको मन्दिर परिसरमा रहेको शिलापत्रमा उल्लेख छ।

‘सनकसिंहले बत्तीसपुतली, देवपाटन र हाँडीगाउँका विभिन्न ठाउँका गरी तीन सय त्रिहत्तर रोपनी आठ आना तीन पैसा जग्गा गूठी राखिदिएका थिए,’ श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार एंव सम्बद्र्धन समितिका सदस्यसचिव डा. गोविन्द टण्डन भन्छन्, ‘२००७ सालसम्म त गुठी व्यवस्थित रुपमै सञ्चालित थियो। तरपछि गएर गुठीसँग सम्बद्ध व्यक्तिहरूको स्वार्थी प्रवृत्तिले मन्दिरको अवस्था बिग्रिँदै गयो भने मन्दिरको सम्पत्ति पनि मासिँदै गयो।’

२०४८ सालमा जीर्णोद्धार समिति बनेर मन्दिरलाई अहिलेको स्वरुपमा ल्याउनुअघि मन्दिर बेवारिसे अवस्थामा परिणत भएको उनले बताए। यस्तै मन्दिर वरिपरिको जग्गामा भएका रुखहरु काटेर घरहरु बनेका, कराडौंको गुठी जग्गा मन्दिरको रेखदेख गर्नेहरूले रैकर बनाएर बेच्ने काम गरेकाले त्यसको छानबिन हुनुपर्ने उनले बताए।

Ram_mandir_11.jpg

२०४१ सालमा गुठी ऐन संशोधन गरी मोहीले गुठियारलाई तोकेको मूल्य बुझाएर नाममा लिएको जग्गा(रैतान नम्बरी) दर्ता गर्नसक्ने व्यवस्था लागू भयो।

त्यसपछि गुठीका थुप्रै जग्गा रैतान हुने क्रम बढेको हो। गुठीको जग्गा व्यक्तिका नाममा धमाधम गरिन थालेपछि २०६४ सालमा सर्वोच्च अदालतले गुठीको जग्गा बेच्ने र रैतान गर्ने प्रक्रिया रोकिदिएको थियो।

तर श्रीरामचन्द्र गुठीका सदस्यसचिव राणा भने मन्दिरको जग्गा किनबेच नभएको दाबी गर्छन्।

‘गुठीको जग्गा बिक्री हुँदैन। मोहीले र जग्गाधनीले पनि बिक्री गर्न नसक्ने सिस्टम छ। त्यसमा मोहीले घर बनेपछि उक्त घर बिक्री गर्ने हो,’ उनले थपे, ‘मोहीले नमानेसम्म त्यो जग्गामा गुठीले केही गर्न नसक्ने अवस्था छ।’

Ram_mandir_MAIN_IMAGE_2.jpg

सदस्यसचिव राणाको दाबी विपरीत मन्दिरबारे जानकार डा. ध्रुवेशचन्द्र गौतमले गुठियारहरुको मिलोमतोमा मन्दिरको जग्गा मासिएको दाबी गरेका छन्।

श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं सम्बद्र्धन समितिले प्रकाशन गरेको श्रीरामचन्द्र मन्दिरको इतिवृत्त पुस्तकमा ‘श्रीरामचन्द्र मन्दिरको गुठीको स्वरुप’ शीर्षकको लेख लेख्दै गौतमले धार्मिक मन्दिरको संरक्षण, सम्बद्र्धन गर्न छुट्याइएको उक्त जग्गा रैकर बनाएर, सट्टा–पट्टा गरेर मासिएको उल्लेख गरेका छन्।

‘शिलालेखमा उल्लेख भएअनुसार गर्नु पर्ने सबै कार्य गर्न अख्तियारी पाएको व्यक्तिले समेत आफ्नो निजी गुठी बनाउने र जग्गाको आयस्ता गुठियार हुँ भनेर खाने–उपयोग गर्ने परिपाटी देखियो,’ उनले लेखेका छन।

गुठी संस्थानले भने नीजी गुठी भएकाले यसबारे अनविज्ञता जनाएको छ। संस्थानका सूचना अधिकारी सरोज थपलियाले रामचन्द्र मन्दिर निजी गुठी अन्तर्गत पर्ने भएकाले त्यसको जग्गा आफूहरुको अधिकार क्षेत्रभित्र नपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .